काठमाण्डौ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षको रुपमा भीष्मराज ढुंगानाको आगमनलाई बजारले उनको नियुक्तिको भोलिपल्टै स्वागत गरिसकेको थियो । पूँजीबजारको विषयमा समेत विज्ञको रुपमा चिनिएका ढुंगानाले पूँजी, बित्त र मुद्रा बजारको विषयमा पनि राम्रै अनुभव र ज्ञान हासिल गरिसकेका छन् । उनको नियुक्तिको खबरले मात्रै पनि हराभरा भएको बजार उनले कार्यभार सम्हाल्दै गर्दा सार्वजनिक गरेका आफ्ना प्राथमिकताका विषय र बजार सुधार, विकास तथा विस्तारका लागि गरेका प्रतिबद्धताका कारण अझै माथि उठ्ने निश्चित देखिन्छ । तर, सानोतिनो खबरबाट समेत प्रभावित हुने बजारको चरित्रको निरन्तरताको रुपमा मात्र बजार बढ्ने हो या दिगो बढोत्तरीको कुनै संकेत देखिने हो, यो विषय चाहि महत्वपूर्ण हुनेछ । 

धितोपत्र बोर्डका अध्यक्षको रुपमा कार्यभार सम्हालेर कुर्सीमा बसिरहँदा ढुंगानाले बजारको समस्याहरुको सर्टकर्टमा जुन डाइग्नोसिस प्रस्तुत गरेका छन्, ती सही छन् । अर्थात उनले पूँजीबजारको बिग्रिएको स्वास्थ्यभित्रको कारणको सही पहिचान गरेका छन् । डे फ्रस्टदेखि नै समस्याको सही पहिचान गर्नसक्ने क्षमताको नेतृत्व बजारको नियामकले पाएको छ । यसरी हेर्दा ढुंगानाले पहिचान गरेका समस्याहरुको सही निदान सही बाटोबाट गर्न सके भने बजारमा कायापलट हुने देखिन्छ । अर्को भाषामा भन्नु पर्दा धितोपत्र बोर्डमा घाम लागेको छ, त्यसले बजारको आकाश कति खुलाउँछ हेर्न बाँकी छ । 
यति भन्दै गर्दा ढुंगानाले गरेका प्रतिबद्धता र त्यसबाट बजारमा पर्नसक्ने प्रभावको विषयमा समेत केही बहस गर्नुपर्ने हुन्छ । उनले गरेको प्रतिबद्धता र समस्याको पहिचानलाई बुँदागत रुपमा हेरौं:

बजारको स्थायीत्व
ढुंगानाले कार्यभार सम्हालेपछि धितोपत्र बोर्डका कर्मचारीहरुका लागि व्यक्त निर्देशनात्मक मन्तव्यको सुरुवातमै बजारको स्थायीत्वमा जोड दिएका छन् । उनले प्राथमिकताका साथ पूँजीबजारको स्थायीत्वको विषय उठान गरे । पछिल्लो समय तीव्र उतारचढावको जञ्जालमा बेरिएको बजारले स्थायीत्व पाउन सक्यो भने लगानीकर्ताको लगानीको सुरक्षा हुनेछ । कम्तीमा स्वार्थ समूहहरुले आफ्नो योजना र स्वार्थमा बजारलाई पिङ झै मच्चाउन पाउने छैनन् । ढुंगानाले स्पष्ट भनेका छन्–‘पूँजीबजारमा स्थायीत्व मेरो मुख्य प्राथमिकतामा रहनेछ । बजारमा लगानी गर्नेहरुले समेत रिटर्न पाउनुपर्छ । रिटर्न नै आउने अवस्था भएन भने किन लगानी गर्छ मान्छेले ? स्वभाविक रिटर्न दिनसक्ने गरी बजारमा स्थायीत्व कायम गराउनुपर्नेछ ।’

सेयर बजारमा लगानी गरी डूबेका कयौं लगानीकर्ताले यसलाई जूवाघरको रुपमा बुझेका छन् । तर, धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाको स्पष्ट सन्देश छ–‘पूँजीबजार पनि अन्य क्षेत्र झै लगानीको आकर्षक क्षेत्र हो । यसलाई सस्टेनेबल रिटर्न पाउने क्षेत्रको रुपमा विकास गरिन आवश्यक छ ।’ यदि उनले गरेको यो प्रतिबद्धता पूरा भयो भने पूँजीबजारको विषयमा सामान्य र सोझा लगानीकर्तामा टुट्दै गएको विश्वास फेरि जोडिनेछ । 

५८ बुँदामा चासो
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले अर्थमन्त्रीको इच्छामा तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलले दिएको पूँजी तथा वित्त बजार सुधारका ५८ बुँदामा समेत पहिलो कार्यदिन नै चासो दिएका छन् । यसको प्रष्ट अर्थ हो, ५८ बुँदामा निहित बजार सुधारका अजेण्डासँग उनी राम्रैसँगै परिचित छन् र त्यहाँ समेटिएका तर, कार्यान्वयन हुन नसकेका बुँदाहरुलाई शीघ्र कार्यान्वयन हुनसक्ने अवस्था बनाइयो भने त्यसले बजारका लागि सञ्जिवनी बुटीको काम गर्नसक्नेछ भन्ने विषय समेत उनले सहजै बुझेका अनुमान लगाउन सकिन्छ । 

त्यति मात्र होइन, उनले बोर्ड अध्यक्षको कुर्सीमा बसेको पहिलो दिन नै राजश्व सचिवसँग ५८ बुँदाको विषयमा छलफल राखिएको थियो । यसले समेत उनी तीव्र गतिमा सबै पेण्डिङ कामलाई अगाडि बढाउन चाहन्छन् भन्ने देखिन्छ । 

त्यसो त उनले कर्मचारीलाई निर्देशन दिने क्रममै पेण्डिङ कामहरु फत्ते गर्नुपर्ने भनेका छन् । पूँजीबजार सुधार, विकास र बिस्तारका लागि निर्णय भएका वा हुन बाँकी रहेका, निर्णय भई कार्यान्वयन हुन बाँकी रहेका थुप्रै काम छन् । विभिन्न स्वार्थ समूहले कार्यान्वयन हुन नदिएका कामहरु पनि निकै छन् । यस्ता कामहरु समेत उनले भनेझै फटाफट अगाडि बढ्न सके भने त्यसले बजारमा सकारात्मक तरंग ल्याउने कुरामा दुईमत रहन्न । 

कर्मचारी र लगानीकर्ताको मनोबल उकास्ने कुरा
उनले धितोपत्र बोर्डका कर्मचारीहरुको मनोबल उकास्ने कुरा समेत गरेका छन् । लगानीकर्ताको मनोबल समेत उच्च राख्नुपर्ने उनको धारणा आएको छ । बजारको दायरा फराकिलो बनाउनका लागि अहोरात्र खटिने कर्मचारीहरुको मनोबल उच्च बनाउनका लागि प्रोत्साहन र कामको सम्मानको नीति लिने उनले घोषणा गरेका छन् । कर्मचारीलाई ‘सरकारी काम, कहिले जाला घाम’को शैली त्याग्न आग्रह गरेका उनले काममा ध्यान दिन समेत भनेका छन् । यसबाट उनी आफू र आफ्नो टिमलाई अहोरात्र काममा खटाएर बजारको दायरा फराकिलो पार्न उद्यत रहनेछन् भन्ने अनुमान लगाउन सकिन्छ । 
माथि नै भनिसकियो उनले लगानीकर्ताको मनोबलको कुरा समेत गरेका छन् । लगानीकर्ताको मनोबल उच्च रहेमा मात्र पूँजीबजारप्रतिको विश्वास र भोक जगाउन सकिन्छ । यसमा उनको प्रतिबद्धा सराहनीय देखिन्छ । 

सवल सुपरीवेक्षकीय भूमिका, वास्तविक नियामकको अनुभूति
कर्मचारीलाई निर्देशन दिने क्रममा नवनियुक्त अध्यक्ष ढुंगानो निकै महत्वपूर्ण, गम्भीर र गहन कुराहरु गरेका छन् । उनले हालसम्मको बोर्डको नियामकीय र सुपरवेक्षकीय भूमिकामा भएका कमजोरीतर्फ इंगित गर्दै आफ्नो कार्यकालमा वास्तविक नियामकको अनुभूति गराउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । उनले विगतमा बोर्डबाट हुने निरीक्षण तथा सुपरीवेक्षणको विषयमा बजारमा गुनासो रहेको उल्लेख गर्दै त्यसलाई सुधार्नुपर्ने विषय समेत उठान गरेका छन् । यो प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भयो भने पूँजीबजारको वास्तविक नियामकको रुपमा बोर्डको प्रतिष्ठा बढेर आउनेछ । सवल सुुपरीवेक्षणले बजारमा हुने खेलोफड्कोलाई वर्जित गर्नेछ भने सही काम गर्नेलाई प्रोत्साहन तथा पुरस्कार र गलत गर्नेलाई दण्डको व्यवस्था जबरजस्त रुपमा स्थापित हुनेछ । 

उनले नियमनमा आफूजत्तिको विज्ञ नेपालमा कोही भए च्यालेञ्ज गर्छु भनेका छन् । यसबाट समेत उनले नियमनमा नयाँ प्रयोग गरी खरो काम गर्नेछन् भन्ने अनुमान लगाउन सकिन्छ । 

स्वायत्त संस्थाको परिकल्पना
संविधानतः धितोपत्र बोर्ड स्वायत्त संस्था हो । बजारको नियामकको रुपमा यो निकाय रहेको छ । तर, विगतदेखि हालसम्म धितोपत्र बोर्ड कि त राष्ट्रबैंकको छायाँको रुपमा रहेको छ कि त अर्थमन्त्रालयको कुनै विभागको सानो अंगको रुपमा रहेको छ । राष्ट्रबैंकको कार्यकारी निर्देशक समेत भई सोही संस्थामा ३० वर्ष बिताएका ढुंगाना अध्यक्षको रुपमा आएपछि अब अझै बढी राष्ट्रबैंकको छायाँमा धितोपत्र बोर्ड रुमल्लिने भो भन्ने बजारको हल्लाको समेत उनले सम्बोधन गरेका छन् । उनले कर्मचारीहरुलाई निर्देशन दिने शैलीमा भनेका छन्–‘आफू सक्षम, सवल र आत्माविश्वासी भएपछि अरु कसैले हस्तक्षेप नै गर्न सक्दैन । पूँजीबजारको विषयमा हामी विज्ञ हौ, तपाईले सिकाइरहनुपर्दैन, यो कुरा हामीलाई थाहा छ भनेर तपाई कर्मचारीले भन्न सक्नुपर्दछ । तपाई बलियो भए अरु कसैले हस्तक्षेप गर्दैन । अरुको हस्तक्षेपमा पर्नु पर्दैन ।’ उनले स्पष्ट रुपमा धितोपत्र बोर्डलाई कसैको छायाँ भन्दा पनि स्वायत्त नियामक निकायको रुपमा अगाडि बढाउने आफ्नो चाहना व्यक्त गरेका देखिएको छ । 

बोर्डको आफ्नै भवन, डिजिटाइज्डमा जोड
उनले आफ्नो पहिलो प्राथमिकता बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन बनाउने रहेको समेत उल्लेख गरेका छन् । बोर्ड स्थापना भएको २६ वर्ष भइसक्दा समेत आफ्नै कार्यालय भवन नहुनु लाजमर्दो विषय हो । बोर्डमा काम गर्ने ठाउँ कार्यमैत्री नभएको समेत उल्लेख गर्दै उनले यसको समाधान गरिने प्रष्ट संकेत गरेका छन् । हाललाई जाउलाखेलस्थित बोर्डको कार्यालय अन्त कतै सार्ने र त्यसपछि भवन निर्माणको प्रक्रिया समेत अगाडि बढाउने उनको आशय देखिन्छ । कम्तीमा बोर्डका कर्मचारीलाई उनले काम गर्न प्रेरित गर्ने वातावरणसहितको कार्यालय बनाउने आश्वासन दिएका छन् । यसले समेत बोर्डलाई सवल, सक्षम बनाउने कार्यमा उनको फोकस छ भन्ने देखिन्छ । कार्यमैत्री वातावरण रहेको कार्यालयमा काम गर्नेहरुले राम्रो काम गर्नसक्ने छन् । यस्तो भयो भने बोर्डका कर्मचारीहरुले समेत बजार सुधारका लागि तनावरहित वातावरणमा काम गर्न पाउनेछन् । 

उनले बोर्डको भवन मात्र होइन, त्यहाँको काम गर्ने पुरातन शैलीमाथि पनि प्रश्न उठाएका छन् । सूचनाप्रविधिको उच्चतम प्रयोगसँगै डिजिटाइज्ड दुनियाँमा विश्व प्रवेश गरेको बेला समेत धितोपत्र बोर्डमा म्यानुअल काम हुने गरेको भन्दै आन्तरिक नियन्त्रण प्रणाली, रिपोर्टिङ तथा स्टोरेज प्रणाली समेत डिजिटल बनाउने उद्घोष गरेका छन् । यसले युगको स्पिरिट अनुसार नियामकलाई स्मार्ट बनाउन र सोहीअनुसार बजारलाई समेत अझ स्मार्ट बनाई सेयर कारोबारलाई समेत थप सुरक्षित, प्रविधिमैत्री र फूल डिजिटाइज्ड गर्न उनले राम्रो भूमिका खेल्नेछन् भन्ने अनुमान लगाउन सकिन्छ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली भनिए पनि ‘सेमी अनलाइन’कै रुपमा संचालित नेप्सेको कारोबार प्रणालीमा समेत ढुंगानाले चासो दिई लगानीकर्ता र कारोबारमैत्री बनाउन प्रभावकारी भूमिका खेल्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । 

लगानीका विकल्प बढाउने इच्छा
ढुंगानाले लगानीका विकल्प कम भएका उल्लेख गर्दै यसको दायरा समेत फराकिलो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले कमोडिटी मार्केटका थालनी गर्ने विषयमा समेत चासो दिएका छन् । मौद्रिक तथा वित्तीय उपकरणहरुको अभाव रहेको उल्लेख गर्दै त्यसको बढोत्तरी हुनुपर्ने र तीसँग सम्बन्धित संस्थाहरु समेत आउनुपर्नेमा उनको जोड छ । 

उनले पहिलो निर्णय नै नेपाल एसबीआई बैंकको ऋणपत्र स्वीकृतिको गरी लगानीका सुरक्षित विकल्पहरुको विषयमा समेत लगानीकर्ताले ध्यान दिनुपर्ने स्पष्ट सन्देश दिएका छन् । 

तत्कालका लागि उनले स्टक डिलरको रुपमा नागरिक लगानीकोष, सञ्चयकोष लगायतलाई भित्र्याउने, ब्रोकरहरुको कार्यक्षेत्र बढाउने, बिमा कम्पनीहरुलाई पनि सामूहिक लगानीकोष संचालन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा काम अगाडि बढाउनसक्नेछन् । 

यसकारण धेरै काम गर्नसक्छन् ढुंगानाले
ढुंगानालाई दुईतिहाई बहुमतप्राप्त सरकारले बोर्ड अध्यक्ष बनाएको हो । उनलाई बोर्डका अध्यक्ष बनाउने योजनाअनुसार नै असोज १ गतेदेखि विज्ञ सदस्यको रुपमा नियुक्त गरी पठाइएको थियो । उनले विज्ञ सदस्यको रुपमा बोर्डको ५–७ वटा बैठकमा उपस्थिति जनाएका थिए । त्यसअघि उनले नेपाल स्टक एक्सचेञ्जको संचालक समेत भएर काम गरेका थिए । 

अनुभवको हिसाबले उनी परिपक्व व्यक्ति हुन् । त्यति मात्र होइन, बोर्डको सातौं अध्यक्षको रुपमा आएका उनको राजनीतिक कनेक्सन समेत राम्रो र सहज छ । तत्कालीन बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफ्नो ४ बर्षे कार्यकालमा ५ वटा अर्थमन्त्रीलाई व्यहोर्नुपर्यो । राजनीतिक लाइन नमिल्दा चाहेर समेत उनले कतिपय काम गर्न सकेनन् । जस्तो: अन्तिम अवस्थामा समेत उनले अर्को स्टक एक्सचेञ्जको निर्णय गराउन खोजेका थिए, तर अर्थमन्त्री डा. युवराज खतिवडाले रोके । अन्य सुधारका योजना समेत अगाडि बढाउन खोजेका थिए, तर अर्थले उनलाई सहयोग गरेन । यसको एक मात्र कारण थियो, सरकारको नेतृत्व गरिरहेको दलको विचार र डा. कार्कीको विचारमा तालमेल नमिल्नु। 

तर, ढुंगानाको सवालमा यस्तो हुने छैन । राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने ढुंगानाको सरकार तथा विभागीय मन्त्रीसँगको कनेक्सन राम्रो छ । सत्तासीन दलसँगको राजनीतिक कनेक्सनमा समेत उनको राम्रो पकड छ । त्यसकारण बजार सुधार, बिस्तारका लागि उनले चाहे भने फटाफट निर्णय गराउनसक्नेछन् । यसअघिजस्तो बोर्डले लेखेर पठाउने र त्यसलाई अर्थले रद्धीको टोकरीमा राख्ने वा लामो समयसम्म निर्णय नदिने प्रवृति ढुंगानाको पालामा हुनेछैन । केपी ओली नेतृत्वको सरकार ५ वर्षसम्म रहने तथा अर्को संसदीय चुनाव गर्दासम्म करिब ६ वर्षसम्मै रहने भएको, र  यो सरकारले २ वर्ष समय मात्र व्यतीत गरेकोले ढुंगानाले पूरा कार्यकाल(४ वर्ष) यही सरकारलाई झेल्नुपर्नेछ । यसकारण अर्थमन्त्रालयसँग उनको ट्यूनिङ मिल्नेछ र उनले चाहेका कामहरु अगाडि बढ्नेछन् । यसकारण ढुंगानाको इच्छाशक्ति जति बलियो भयो बजारको भविष्य समेत उति नै उज्वल हुनेछ । ढुंगाना स्वयम्का लागि समेत इतिहास रच्ने अवसर आएको छ, यसलाई कति स्वर्णिम बनाउने छन्, त्यो उनको आगामी कदमले नै प्रष्ट पार्नेछ ।