काठमाण्डौ । केही दिनअघि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस)मा एउटा म्यासेज पठायो । टीएमएसमा उक्त म्यासेजमा सीडीएससीको ‘मेरो सेयर’ र टीएमएसमा सेयरको मौज्दात फरक देखिनसक्ने तर लगानीकर्ताहरुले ‘मेरो सेयर’मा भएको मौज्दातमा भएका सेयर बिक्री गर्न आग्रह गर्दै त्यहाँभन्दा बढी सेयर बिक्री भएमा नियमानुसार क्लोजआउट जरीवाना तिर्नुपर्ने जानकारी उल्लेख छ ।

यो म्यासेजबाट बजारमा के फेरि सर्टसेलिङ(डिम्याटमा नभई सेयर बेच्न मिल्ने) वा धितोमा रोक्का भएको सेयर पनि बिक्रीका लागि योग्य हुने हो ? भन्ने सवाल उठ्यो । यसबाट बजार थप अपारदर्शी हुने भयो भन्दै बजारवृत्तमा विरोधका स्वरहरु गुञ्जिन थाले ।

तर वास्तविकता भने अर्कै छ । केही लगानीकर्ताहरुले इडीआइएस गरी सेयर हस्तान्तरण गरेपश्चात पनि पुनः बिक्री गर्ने घटना एकाध भेटिएका छन् । सिस्टमको दरिलो व्यवस्थालाई जता पनि कुनै न कुनै लूपहोल देखेर केही टाठाबाठाले यस्ता गैरकानूनी क्रियाकलाप गर्ने गरेका बताइएको छ । 

नेप्सेको टीएमएस र सीडीएससीबीच रियल टाइम इण्टीग्रेसन नभएकाले यस किसिमको समस्या सिर्जना भएको टीएमएसको सिस्टम भेण्डर कम्पनी वाइको प्रालि बताउँछ । क्लोजआउटमा परेको जानकारी समेत टीएमएसमा उपलब्ध नहुने भएकाले सेयर बिक्री दोहोरिने गरेको वाइकोको दाबी छ । 

टीएमएसमा क्लोजआउटमा परेको जानकारी सम्बन्धित ब्रोकरलाई जानकारी गराइनुपर्ने वाइकोको तर्क छ । टीएमएस र ‘मेरो सेयर’मा २४ घण्टादेखि ४८ घण्टासम्म रियलटाइम जानकारी नहुन पनि सक्ने भएकाले उक्त म्यासेज सर्वसाधारणलाई अलर्ट गर्न पठाइएको वाइको प्रालिले जनाएको छ ।

यता, सीडीएससीले समेत टीएमएसको डेटा ट्रयाक नगर्ने  र जानाजान केही व्यक्ति वा समूहल लूपहोलबाट अवैधानिक क्रियाकलाप गर्न थालेकाले यस विषयमा केही पटक वाइको प्रालि र सीडीएससीको बैठकसमेत बसिसकेको छ ।

कतिपय अवस्थामा लगानीकर्ताहरुले ‘मेरो सेयर’ खोल्ने र ‘माई पोर्टफोलियो’ अप्सनमा देखिएका वा ‘माइ सेयर्स’ अप्सनमा रहेका सेयरहरु बिक्री गर्ने परिपाटीले समेत क्लोजआउटको घटना यद्यपि छ, तर उक्त म्यासेजमा वास्तवमा भन्न खोजेको आशय चाहिँ ‘मेरो सेयर’को फ्रि ब्यालेन्समा देखिएका सेयर मात्रै बिक्रीका लागि योग्य हुने हो ।