काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार बजार दोहोरो अंकको बढोत्तरीका साथ बन्द भएको छ।
टीएमएसमा आएको गम्भीर समस्याबाबजुद पनि आज नेप्से परिसूचकमा १२.५६ अंकको बढोत्तरी भएको हो। योसँगै आज नेप्से परिसूचक २५९९.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले बढेर ४७०.३४ को उचाइमा पुगेको छ।
टीएमएसमै समस्या आएपछि आज सेयर किनबेच भने घटेको छ। त्यसैले आज कारोबार रकम पनि पौन ७ अर्ब रुपैयाँको हाराहारीमात्रै भएको छ।
नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले ३५ खर्बको बजारमा प्राविधिक समस्या बारम्बार आउँदा आमलगानीकर्ताहरु मारमा परिरहेको बताए। आज टीएमएसमा देखिएका विषयमा नियामक निकाय नै जिम्मेवार रहेको भन्दै रौनियाले पुँजीबजारमा यस्ता समस्या आइरहनु राम्रो नजिर नहुने बताए। ‘कहिलेकाहीँ पोर्टफोलियोबाट सेयरै हराउँछ, कहिले नकिनेको सेयर आउँछ, कहिले डाटा नै अपडेट हुँदैन’, उनले भने, ‘बारम्बार देखिन यस्ता समस्या समाधान गर्न धितोपत्र बोर्डले पहल गर्नैपर्छ।’
रौनियारले अब राजनीतिक माहौल सकारात्मक बनिसकेकोले बजारमा खासै नकारात्मक असर नपर्ने बताए। ‘अब २ वर्ष संसद चल्ने वातावरण बनेको छ’, उनले भने, ‘आमलगानीकर्ताले निर्धक्क भएर सेयर कारोबार गर्दा हुन्छ।’
अब बजारले गति लिने पनि रौनियारको ठम्याइ छ। ‘संकटकाल लाग्ने हल्ला चलेको थियो तर लागेन’, उनले भने, ‘राम्रो वातावरण बनेको छ, बजार पनि सकारात्मक नै छ।’
सक्रिय लगानीकर्ता निमानन्द कँडेल प्राविधिकसँग अब राजनीतिले कुन दिशा लिन्छ भन्ने अन्यौल कायमै रहेका कारण बजार आज सोचेअनुरुप बढ्न नसकेको बताउँछन्। ‘बजारमा करेक्सन आउनु स्वाभाविक नै थियो, त्यसले बजारलाई थप मजबुत पार्छ’, उनले भने, ‘आज बजार बढ्यो, यसले आमलगानीकर्ताको मनोबल बढाएको छ, अब बजार अगाडि बढ्नै हो।’
बजारले ३००० को विन्दु चुम्न खासै समस्या नरहेको कँडेलको भनाइ छ। ‘बजारमा निर्धक्क भएर कारोबार गर्दा हुन्छ’, उनले भने।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको भने २ वटामा रातो पोतिएको छ।
यो दिन निर्जीवन बीमा समूह सबैभन्दा धेरै १८४.३४ अंकले उकालो लागेको छ। बीमा समूह १८०.८९ अंकले बढेको आज बैंकिङ समूहमा १५.०६ अंक, व्यापार समूहमा १.६५ अंक, होटेल्स समूहमा ४६.५८ अंक, विकास बैंक समूहमा १८.७१ अंक, वित्त समूहमा ५.९९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५४.०४ अंक, लघुवत्त समूहमा २२.१५ अंक र म्युचुअल फन्ड समूहमा ०.१५ अंकको बढोत्तरी भएको छ।
आज जलविद्युत् समूह २२.९३ अंकले ओरालो लाग्दा अन्य समूहमा १०.८९ अंकको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०४ कम्पनीका १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल बैंकको सर्वाधिक ५८ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको ५५ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेको इन्सुरेन्सको २३ करोड ८३ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २० करोड ४७ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको २० करोड ४० लाख रुपैयाँ, नबिल बैंकको १९ करोड ३० लाख रुपैयाँ, अपी पावरको १७ करोड ४९ लाख रुपैयाँ, एभरेस्ट बैंकको १७ करोड १५ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १६ करोड १४ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको १४ कराड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ३ कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा नेपाल फाइनान्स र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको हो।
यो दन निफ्राका सेरधनीहरुले धेरै गुमाएका छन्। निफ्राको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19