काठमाण्डौ । अहिले सरदर सेयर बजारमा ७ लाखभन्दा बढी लगानीकर्ताले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) चलाउन थालेका छन्। त्यसमा सबै सहज तरिकाले टीएमएस चलाउन सक्ने सक्षम छैनन्।

हाल बजारमा फरक क्षमता (अपांगता) भएका लगानीकर्ताहरु संख्या बाक्लै छ। फरक क्षमता भएकाहरुले सधैँ आफूहरु राज्यबाट अपेक्षित सुविधा नपाएको र पैसा तिरेर पनि बैंकिङ तथा वित्तीय सुविधा नपाएको गुनासो गर्दै आएका छन्। 

समय–समयमा फरक क्षमता भएकाहरुले विभिन्न कार्यक्रम गरेर आफ्ना गुनासाहरु पनि पोख्दै र राज्यलाई झक्झकाउँदै आएका छन्। सेयर बजारमा सबैको पहुँच बराबर हुनुपर्छ भन्ने माग आइरहेको समयमा अहिले टीएमएसमा क्याप्चाको आकार परिवर्तन गरी सानो बनाइँदा दृष्टिविहीन लगानीकर्ताहरु भने समस्यामा परेका छन्। उनीहरु यही कारणले अहिले टीएमएस चलाउन नै नसक्ने अवस्थामा पुगेको गुनासो गर्न थालेका छन्। 

समृद्ध नेपाल लगानीकर्ता संघका अध्यक्ष पर्वत बिष्टले गत बिहीबारबाट टीएमएसमा परिवर्तन गरिएको क्याप्चाको आकारका कारण आफूहरु कारोबार गर्नबाट वञ्चित भएको गुनासो गरे। ‘जसरी भौतिक संरचना सहज रुपमा सबै जान सक्ने अपांगमैत्री भएका छन्, त्यसैगरी वेबसाइट पनि सबैले प्रवेश गर्न सक्ने हुनुपर्छ’, बिष्ट भन्छन्, ‘मोबाइल एप तथा सबै वेबपेज आपांगमैत्री हुनैपर्ने कानुनी व्यवस्था छ।’

अहिले सेयर बजारमा १५० जना जति सक्रिय दृष्टिविहीन लगानी कर्ता रहेको बिष्टले जानकारी दिए। ‘२ हजारभन्दा बढी प्रथामिक सेयर भर्नेहरु पनि छन्’, उनले भने, ‘यसले हामी अहिले कारोबार गर्नबाट वञ्चित भएका छौँ। अहिले कारोबार गर्नेहहरु पूर्ण वञ्चित भएको छ।’ 

‘क्याप्चा परिवर्तन हुनु ठूलो विषय भएन तर त्यो सबैलाई सहज किन भएन ? बिष्टले प्रश्न गर्दैै भने, ‘यो कारणले ज्येष्ठ नागरिक पनि समस्यामा परेका छन्।’ 

राष्ट्रिय अपांग पुनस्र्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले पनि अहिलेको टीएमएस अपांगमैत्री तथा युनिभर्सल डिजाइनमा नभएको बताए। ‘हामीले टीएमएसका निर्मातालाई पनि हामीले यो युनिभर्सल हुनुपर्ने र सबैलाई सहज हुने हुनुपर्ने भनेका थियौँ तर उहाँहरुले यसलाई ठूलो बनाइदिए हुन्छ भने जस्तो गर्नुभयो’, उनले भने, ‘यस्ता वेबसाइट तथा सिस्टम पूर्णमैत्री तथा स्वतन्त्र हुनुपर्छ।’

नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले त्यो अहिले सिस्टममा अडिट गर्नुपर्दा केही दिनको मात्रै समस्या भएको बताए। उनले भने, ‘यो समस्या केही दिनमै समाधान हुन्छ।’