काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा बारम्बार आइरहनुले लगानीकर्ता हैरान भएका छन्। 

आज पनि बिहान ११ बजदेखि टीएमएसमा केही समस्याहरु आउँदै लगानीकर्ताहरु कारोबार गर्नबाट वञ्चित हुनुपरेको छ। यस विषयमा केही लगानीकर्ताले सामाजिक सञ्जालमा तीव्र असन्तुष्टि पोखेका छन्। 

सक्रिय लगानीकर्ता भेषराज पौडेलले बिहान बजार घटेको समयमा आफूले खरिद अर्डर राख्न नपाएको भन्दै गुनासो गरे। ‘यो चलखेल हो वा टीएमएसमा समस्या हो ? जहिले पनि बजार घटेपछि बिग्रने ?’, उनले भने, ‘जब लगनीकर्तालाई अर्डर राख्न आवश्यक हुन्छ, त्यही बेलामा टीएमएसमा समस्या देखिन्छ।’

सक्रिय लगानीकर्ता रोहन कार्कीले पनि बिहान बजार घटेको बेलामा आफूले सेयर किन्न नपाएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। उनले लेखेका छन्, ‘बजार घटाउन टीएमएस बिगारियो।’

सामाजिक सञ्जालमै सक्रिय लगानीकर्ता दुर्गाप्रसाद काफ्लेले बजारमा चलखेल गर्न टीएमएसमा समस्या उत्पन्न गरिएको आरोप लगाएका छन्। 

प्राइमो सेक्युरिटिज स्टक ब्रोकर नम्बर १६ का एक अधिकारीले पनि आज लगानीकर्ता तथा ब्रोकर दुवैको टीएमसमा समस्या आएको जानकारी दिए। ती अधिकारीले भने, ‘टीएमसमा राखेको अर्डर डेली अर्डर बुकमा नदेखिने तथा कारोबार भए नभएको लगानीकर्ताले जानकारी नपाउनेजस्ता समस्या टीएमएसमा देखिएको छ।’

वाइको कम्पनीका एक अधिकारीले भने टीएमएसमा समस्या आएको कतैबाट गुनासो नआएको बताए। ‘टीएमएसमा समस्या छैन’, ती अधिकारीले भने।