– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निरन्तर घटेको सेयर बजार अघिल्लो साताको अन्तिम कारोबारदेखि बढ्न थालेको थियो। यो साताको पहिलो कारोबारमा बजार १०१ अंकले बढेको थियो। 

ब्रोकर हाउसदेखि क्लब हाउससम्म अब बजार उकालो यात्रा तय गर्ने धेरैको विचार देखिन्थ्यो। आज सोमबार बजारमा सामान्य उतारचढाव भएको थियो। झन्डै १५ अंकले घटेर बजार बढ्नमात्रै सुरु गरेको थियो, टीएमएसमा समस्या देखियो। सामाजिक सञ्जालमा लगानीकर्ताहरुले तीव्र आक्रोश पोखिएकान्

त्यसपछि नेप्सेले टीएमएसमा देखिएको समस्याका कारण नेप्सेले १२ः५३ बजे कारोबार स्थगित गर्यो। समस्या समाधान हुनेबित्तिकै बजार सुचारु गर्ने भनिएको थियो। तर, टीएमएसको समस्या समाधान नभएपछि नेप्सेले फेरि अर्को सूचना जारी गर्दै बाँकी समयावधिको कारोबार स्थगित गरिएको जानकारी गराएको छ। 

लगानीकर्ता गोविन्दप्रसाद घिमिरेले प्राविधिक समस्या कहीँले काहीँ देखिनु स्वाभाविक नै रहेको बताए। ‘यस्ता समस्या थोरै समयका लागि देखिनु खासै ठूलो कुरो होइन’, उनले भने, ‘तर, घन्टौँसम्म समस्या समाधान नहुनु लापरबाही र गैरजिम्मेवारपन हो।’ 

सेयर बजारजस्तो संवेदनशील क्षेत्रमा यस्ता समस्या पटकपटक देखिनु र लगानीकर्ताहरुले घन्टौँसम्म कारोबार गर्नबाट वञ्चित हुनुलाई सम्बन्धित निकायले गम्भीर रुपमा लिनुपर्ने घिमिरेको भनाइ छ। ‘अब प्राविधिले फड्को मारिसकेकोले शुक्रबार पनि बजार खोल्ने नियम ल्याउनुपर्छ’, उनले भने। 

पुँजीबजार लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले हिजो बजार बढ्नु र आज टीएमएस बिग्रिनुमा ‘बनमा बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै संयोग रहेको बताए। ‘आमलगानीकर्ताको आशंका र चासो नियामक निकायले मेटाउनुपर्छ’, उनले भने। 

टीएमएसमा देखिएको समस्याको वास्तविक तथ्य आमलगानीकर्तालाई नियामकले स्पष्टसँग जानकारी गराउनुपर्ने बास्तोलाको भनाइ छ। ‘लामो समयदेखि सहज रुपमा चलिरहेको टीएमएस आज एक्कासि कसरी बिग्रियो ? यसबारे नियामक स्पष्ट पारोस्’, उनले भने। 

ब्रोकर हाउसमा भेटिएकी महिला लगानीकर्ता सुनिता दुलालले पनि आजको प्राविधिक समस्याले सेयर बजारकै भविष्यमाथि शंका गर्ने ठाउँ उब्जिएको बताइन्। ‘आजको घटनाले प्राविधि नै भरपर्दो नभएको पुष्टि हुन्छ’, उनले भनिन्, ‘यसबारे नियामकले उचित कदम नचाले यस्ता दिनहरु फेरि नआलाउन् भनेर भन्न सकिन्न।’

बजार जानकारहरु भने हालको टीएमएसले अहिलेको बजारलाई नधान्ने बताउँछन्। यो टीएमएसलाई प्रतिस्थापन गरी नयाँ टीएमएस भित्र्याउनुपर्ने वा ब्रोकरहरुले ल्याउने भनेका आफ्नै टीएमएसलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने उनीहरुको भनाइ छ।