काठमाण्डौ । स्टक ब्रोकरहरुले रिसोर्सको क्षमता नबढाउँदा ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा अत्याधिक भार परेकाले आज आइतबार सिस्टम नै अवरुद्ध भएको छ।

लकडाउनअघि दैनिक कारोबार संख्या औसत १५ हजार रहेकोमा लकडाउनपछि हिजोआज दैनिक औसत कारोबार संख्या ३० हजारभन्दा माथि छ। अर्थात् १५ हजार कारोबार संख्या हुँदा १ लाख हाराहारी सेयरको अर्डर पोस्ट हुने र कारोबार संख्या ३० हजार माथि हुँदा २ लाख हाराहारीको संख्यामा अर्डर पोस्ट हुने नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।

पछिल्लो तथ्यांकअनुसार हाल निषेधाज्ञा र महामारीका बीच अधिकांश लगानीकर्ताले ब्रोकरमार्फत अनलाइन युजर र पासवर्ड लिई सेयर खरिदबिक्री गर्नेको संख्या ६५ हजार हाराहारी पुगिसकेको छ। जुन लकडाउन अघि र हाल अनलाइन प्रयोगकर्ता तेब्बर हुन आउँछ।

स्टक ब्रोकरहरुले आईटीको रिसोर्समा नै लगानी गर्न आनाकानी गर्ने र डेटाबेस ८० प्रतिशतभन्दा बढी प्रयोग भइरहेको स्रोत बताउँछ। उसो त नेप्सेले समेत ब्रोकरहरुको कार्यालयमा गई साप्ताहिक रुपमा स्थलगत भ्रमण गरी रिसोर्सको प्रयोगको जानकारी लिने र रिसोर्स थप्न आनाकानी गर्ने ब्रोकरलाई कारोबार निलम्बनसम्मको कारबाही गर्ने बताइए पनि हालसम्म नेप्सेले समेत कुनै कार्वाही  गर्ने छाँटकाँट देखाएको छैन।

स्टक ब्रोकरहरुले हाल आफ्नै टीएमएस र डेटासेन्टर बनाउने हौवा पिटे पनि ४०–५० लाख रुपैयाँ हाराहारी एउटा ब्रोकरको व्यवभार थपिने भएकाले पछि सरेको स्रोतको भनाइ छ।

अनलाइन कारोबारीको संख्या बढ्दै जाँदा व्यवसायको आकार पनि बढ्ने र ब्रोकर कमिसन पनि बढ्दा ब्रोकरलाई नै फाइदा हुने भएतापनि उनीहरुले लगानीकर्ताहरुलाई रिसोर्स थप गरी सुविधा दिन भने कन्जुस्याइँ गरिरहेको स्रोतको जिकिर छ।

गत साता स्टक ब्रोकर नम्बर ३८ र स्टक ब्रोकर नम्बर ३४ ले नियमित कारोबार समयमा अन्तिम १ घन्टा सेयर किनबेच नै गर्न पाएनन्। आजसमेत टीएमएस अवरुद्ध भएकाले नेप्सेले नै कारोबार स्थगत गर्नुपर्यो। 

यस किसिमको दुर्घटना हुने विषयमा अघिल्लो साता नै जानकार ब्रोकरहरु आइटीको रिसोर्स थप्न अनिच्छा देखाएका कारणले हाल बजारमा उच्च खरिदचाप हुँदा पनि सेयर कारोबार हुन सकिरहेको छैन। यस विषयमा एक लगानीकर्ता संघका नेताले नेप्सेले ब्रोकरलाई कारबाही गर्न खुट्टा कमाएको हुनाले नै लगानीकर्ताले दुःख पाइरहेको प्रतिक्रिया दिए।