काठमाण्डौ । सेयर बजारमा अचाक्ली आकर्षण बढ्दै गइरहेको छ। 

बजार लगानीकर्ताहरु दैनिकजसो बढ्दै गइरहेका छन्। पछिल्लो तथ्यांक डिम्याट खाता खोल्नेका संख्या ३२ लाख बढी पुगिसकेको छ। 

अनलाइन प्रणाली सञ्चालनमा आएसँगै बजारको रौनक फेरिएको छ। अहिले लगानीकर्ताहरु एक क्लिककै भरमा जुनसुकै स्थानबाट सेयर किनबेच गर्न सक्ने भएका छन्। जसका कारण टीएमएस लिनेका संख्या दैनिकजसो बढ्न थालेको छ। 

पछिल्लो २ सातामा मात्रै ५४ हजार ३४० जनाले टीएमएस लिएका छन्। योसँगै टीएमएस लिनेको संख्या ४ लाख ९९ हजार ६९३ पुगेको छ। दुई साताअघि टीएमएस लिनेको संख्या ४ लाख ४५ हजार ३५३ रहेको थियो। 

नेपाल स्टक एक्सचेन्ज आज सार्वजनिक गरेको तथ्यांकअनुसार टीएमएस लिने कुल संख्यामध्ये २ लाख ४३ हजार ३३८ जनाले सक्रिय रुपमा अनलाइन प्रणालीमार्फत कारोबार गरिरहेको छ। यो हिसाबले ४८ प्रतिशतभन्दा बढीले अहिले अनलाइन प्रणालीबाटै सेयर खरिदबिक्री गरिरहेको देखिन्छ। 

टीएमएस बढी लिनेमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडबाट सेयर कारोबार गर्ने लगानीकर्ताहरु रहेका छन्। यो ब्रोकरबाट कारोबार गर्ने ४८ हजार ४१३ जनाले टीएमएस लिएका छन् भने तीमध्ये २३ हजार ६४२ ले अनलाइन प्रणालीबाट सक्रिय रुपमा कारोबार गरिरहेका छन्।