काठमाण्डौ । नेपाल टेलिकम र म्युजिक नेपाल प्रा.लि.को सहकार्यमा मोबाइल एपमार्फत म्युजिक स्ट्रिमिङ सेवाको औपचारिक रुपमा आइतबार सुरुवात गरिएको छ । 
 
नेपाली संगीत क्षेत्रका गायक, संगीतकार, रचनाकार तथा उत्पादकहरुको उपस्थितिमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुभारम्भ गरेका हुन् । 
 
उपाध्यायले राष्ट्रको सञ्चारको रुपमा रहेको नेपाल टेलिकम र देशकै अग्रणी संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गरे । उनले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप लोकप्रिय हुने विश्वास ब्यक्त गर्दै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने जानकारी दिए । 
 
म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले नेपाल टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएकोमा खुशी ब्यक्त गरे । उनले यो सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एपको रुपमा म्युजिक नेपाल एपले विश्वास जित्ने आशा पनि व्यक्त गरे ।
 
नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एपमार्फत संगीतप्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका खेल्नुका साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बिचार व्यक्त गरिन् ।
 
म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममा असीमित संगीतको आनन्द लिन सक्नेछन् । ̒म्युजिक नेपाल̓ मोबाइल एप्प डाउनलोड गरी सोमार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ । त्यति मात्र नभई आफ्नो रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सकिने छ । 
 
यो सेवा नेपाल टेलिकमका ग्राहकलाई मात्र उपलब्ध हुनेछ भने हाललाई पहिलो एक महिनाको लागि उपभोक्ता शुल्क नलिई  उपलब्ध गराइने छ । एक महिनापछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । डाउनलोड गरेको एप खोलेर आफ्नो मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ । 
 
मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क भने लाग्नेछ । साथै वाइफाई प्रयोग गरेर पनि कम्पनीका ग्राहकले संगीतको आनन्द लिन सक्नेछन् । 
 
हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सेवा मार्फत हाललाई नेपाली आधुनिक तथा सदावहार गीत संगीतहरु मात्र उपलब्ध भए पनि निकट भविष्यमा विदेशी गीत संगीतहरु समेत  उपलब्ध हुनेछन् । टेलिकमका अनुसार आगामी मंगलबारदेखि ‘म्युजिक नेपाल एप’ प्रयोग गर्न सकिनेछ ।