काठमाण्डौ । सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरूको सूची सार्बजनिक गरेको छ ।

सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै  हड्ताल गर्न नपाइने विभिन्न क्षेत्रको सूची सार्वजनिक गरेको छ ।गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको बताएको छ।

मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश जारी गरेको हो । राजपत्रअनुसार डाँक चिठीपत्र आदि ओहोरदोहोर गराइने सरकारी प्रबन्ध, तार वा टेलिफोन सेवामा हड्ताल गर्न पाइने छैन ।

यसैगरी प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, बैंकिङ सेवा, विद्युत सेवा, कन्सुलर विभागबाट प्रदान हुने सेवा तथा इन्टरनेट सेवालाई हड्ताल निषेधित क्षेत्रका रूपमा उल्लेख गरिएको छ ।

यसका साथै हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा, हातहतियार खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्काउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवामा हड्ताल गर्न पाइने छैन ।
राजपत्रमा प्रकाशित सूचना अनुसार डाँक तार टेलिफोन सेवा, जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न पाइँदैन।

यस्तै पर्यटन अवास, मोटेल, होटेल रेष्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरू कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न पाइने छैन ।