काठमाण्डौ । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा (आइतबार–सोमबार) १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। यो साता (पुस १७ देखि २३ सम्म) बा.२ज ३००० देखि बा.२ज ३२०० सम्मका दुई सयवटा ट्याक्सीलाई बिलिङ प्रणाली जडान गर्ने समय तोकिएको छ। उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबारदेखि प्रिन्टर जडान सुरु गरेको हो।
‘आइतबार तीन र सोमबार १२ वटा गरी जम्मा १५ वटा ट्याक्सीले बिलिङ प्रणाली (प्रिन्टर) जडान गरेका छन्,’ नेपाल गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजूले नयाँ पत्रिकासँग भने। आगामी दिनमा प्रणाली जडान गर्ने ट्याक्सीको संख्यामा वृद्धि हुने उनको भनाइ छ।
यसअघि सरकारले कम्प्युटर बिलिङ प्रणाली थाल्नुअघि नै २२ वटा ट्याक्सीले प्रणाली जडान गरिसकेका थिए। अहिलेसम्म कुल ३७ वटा ट्याक्सीमा बिलिङ प्रणाली जडान भएको छ। ट्याक्सी चढ्दा उपभोक्तालाई ठगिनबाट बचाउन र ट्याक्सी सञ्चालनलाई विश्वसनीय बनाउन सरकारले आइतबारदेखि कम्प्युटर बिलिङ प्रणाली जडान गर्न सुरु गरेको हो।
साउनसम्ममा उपत्यकाका सबै ट्याक्सीमा कम्प्युटर बिलिङ
काठमाडौं उपत्यकामा हाल करिब आठ हजार पाँच सयवटा मिटर ट्याक्सी सञ्चालनमा छन्। ती सबै ट्याक्सीलाई आगामी ७ साउनभित्र कम्प्युटर बिलिङमा ल्याइसक्ने सरकारको योजना छ। त्यसका लागि ‘ट्याक्सीको लट’ अनुसार ट्याक्सी नम्बर विभाजन गरिएको छ। एक लटको ट्याक्सीलाई एक साताको समय तोकिएको छ। जसअनुसार उक्त अवधिमा ट्याक्सीधनीले अनिवार्य रूपमा ट्याक्सीको मिटरसँगै प्रिन्टर जडान गर्नुपर्नेछ। ‘२३ पुसपछि क्रमशः सातामा पाँच सयवटा ट्याक्सीमा प्रिन्टर जडान गरिनेछ,’ ध्वजूले भने। एकैचोटि सबैलाई बिलिङ प्रणालीमा ल्याउन नसकिने भएकाले दैनिक पाँच सयवटामा मात्र प्रिन्टर जडान गर्ने तयारी गरिएको उनको भनाइ छ।यो खबर आजको नयाँपत्रिकाले छापेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19