काठमाण्डौ । अमेरिकी राष्ट्रपति चुनावको मिति नजिकिदै  जाँदा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको जितको आशंकाले एशियाको मार्केटमा निकै गहिरो प्रभाव परेको छ । एशियाका अधिकांश सेयर बजारमा भारी गिरावट देखियो । 

एशिया प्यासिफिकको एमएससीआई इण्डेक्समा ०.४ प्रतिशतको गिरावट आयो भने जापानको निक्केईमा १.१ प्रतिशत गिरावट देखियो । अमेरिकाको एस एण्ड पी ५०० इण्डेक्स चार महिनाको सबैभन्दा तल्लो स्तरमा आएर बन्द भयो । सिंगापुरको मार्केट १ प्रतिशत भन्दा बढीले झर्यो भने ब्रेन्ट क्रूडमा समेत ०.५ प्रतिशतको गिरावट आयो । भारतीय बजार पनि १ प्रतिशतले ओरालो लाग्यो । त्यहाँको सानो र मझौला सेयरमा त भारी गिरावट नै आएको समाचार एजेन्सीहरुले जनाएका छन् । 

करेन्सी मार्केटमा समेत व्यापारीहरुले धमाधम अमेरिकन डलर बिक्री गर्न थालेका छन् । व्यापारीहरुले आशंका गरेका छन् कि अन्तराष्ट्रिय व्यापारमा संरक्षणवादी नीति लिने ट्रम्पका कारण डलर कमजोर हुनसक्छ । 

ट्रम्पको संभावित जितले बजारमा चिन्ता पैदा गरेको छ । हिलारी क्लिन्टनको इमेल काण्डमाथि पुनः एफबीआईले जाँच सुरु गरेको खबर बाहिरिएपछि रिपब्लिकन उम्मेद्वार ट्रम्पभन्दा उनी पछाडि देखिएकी छिन् । सुरुमा क्लिन्टन ट्रम्प भन्दा ५ प्रतिशतले अगाडि देखिएकी थिइन्, तर एफबीआईवाला खबरपछि एक सर्वेक्षणमा क्लिन्टन भन्दा ट्रम्प १.२ प्रतिशतले अगाडि देखिएका छन् । यसको मुख्य कारण विदेश नीति, व्यापार सम्बन्ध तथा प्रवासीहरुको बिषयमा ट्रम्पको नीति अस्पष्ट हुनु पनि हो । अर्कोतर्फ, क्लिन्टनको जितले यी बिषय यथास्थिति नै रहने आशा गरिएको छ ।