काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंकको क्यूआर प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा सुरु भएको छ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले विधिवत रुपमा यो सेवा शुभारम्भ गरेका हुन्। कार्यक्रममा जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुआतले सहयोग पुगेको बताए। यो सेवाको सुरुआतले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने उनले विश्वास व्यक्त गरे। 

कार्यक्रमका अतिथि कुमारी बैंकका डिजिटल बैंकिङ विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तनसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंक सदैव अगाडि बढिरहने बताए। डाइनामिक क्यूआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालीको सुरुआत एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै उनले आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताए। 

यस प्रणालीअन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्यूआर कोड स्क्यान गर्नासाथ रकमसहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सीधै भुक्तानी गर्न सकिने ताम्राकारले जानकारी दिए। 

कार्यक्रममा उपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैंकमा रहेको खाताबाट क्यूआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए। 

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १७७ एटीएम, ४३ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।