काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा झिनो गिरावट आएको छ।
बजार आज ७.७२ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक २०६०.५५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.४९ अंकले घटेर ३९८.५८ को विन्दुमा ओर्लेको छ। कारोबार रकम २ अर्ब रुपैयाँ बढीको भएको छ।
नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल तरलता चापको असर अझै पनि बजारमा रहेको बताउँछिन्। ‘भदौ ८ भित्र १२ करोडको सीमामा कायम गर्नुपर्ने भएकाले सेटल नगरेकाले सेटल गर्नुपर्ने दबाब पनि छ’, उनले भनिन्।
सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला चुनावी माहोल, तरलता, ब्याजदरलगायतको विषयले लगानीकर्तामा अन्योलता भएको देखिएको बताउँछन्। ‘ट्रेडर हाबी भएको बजार छ’, उनले भने, ‘अहिले बजारमा १०–१५ रुपैयाँमा नै प्रोफिट बुकिङ हुन थालेको छ, आज पनि प्रोफिट बुकिङ देखिन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ४ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी ९ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक १.०६ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०.४५ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०.१ प्रतिशत र बैंकिङ समूहमा ०.०८ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक १.९३ प्रतिशतले ओरालो लागेको छ। अन्य समूह १.६७ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.९२ प्रतिशत, वित्त समूहमा ०.९२ प्रतिशत, लघुवित्त समूहमा ०.१६ प्रतिशत, जीवन बीमा समूहमा ०.३९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.६२ प्रतिशत र लगानी समूहमा ०.७८ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता सेयर २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन रिडी पावरको सर्वाधिक १२ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको १० करोड रुपैयाँबराबरको कारोबार भएको आज नेष्डो समृद्ध लघुवित्तको ७ करोड ५१ लाख रुपैयाँ, नेपाल टेलिकमको ६ करोड ५४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख रुपैयाँ, राधी विद्युतको ४ करोड ७४ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ७१ लाख रुपैयाँ, अपर तामाकोशीको ४ करोड ५१ लाख रुपैयाँ, फर्स्ट माइक्रोफाइनान्सको ४ करोड २८ लाख रुपैयाँ र नबिल बैंकको ३ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।
यो दिन रिभर फल्स पावर र हिमालयन हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउमा ५ प्रतिशत बढीको गिरावट आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago