काठमाण्डौ । प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । 

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन् ।

उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज÷अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ  ।’

प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा स-प्रमाण निवेदन दिन पनि भनेको छ । 

पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।