काठमाण्डौ । बढेको बजारमा थोरै भए पनि नाफा बुक गराइहाल्ने सर्ट टर्म कारोबारीको हतारोले साताको अन्तिम कारोबार दिन बुधबार बजार घटेको छ । यो दिन बजार परिसूचक(नेप्से) दोहोरो अंकले घटेको छ भने कारोबार रकममा पनि गिरावट आएको छ ।

नेप्से परिसूचक १५.७८ अंकले घटेर १४४०.२९ को विन्दूमा समेटिन पुगेको छ भने कारोबार रकम घटेर ३७ करोड ४८ लाखमा झरेको छ ।

लामो समयसम्म घटेको बजारमा यो साता बढोत्तरी भएको थियो । बजार बढेर केही माथि पुगेपछि थोरै नाफा बुक गर्ने साना र सर्टटर्म लगानीकर्ताको हतारोले बजार घटाएको विश्लेषकहरु बताउँछन् । पछिल्लो समय नेपाली सेयर बजार यस्तै कारोबारीबाट बढी प्रभावित हुँदै आएको छ । ठूला लगानीकर्ता केही सहज वातावरणको प्रतिक्षामा रहँदा खालि भएको मैदानमा साना लगानीकर्ताको बोलवाला चल्ने गरेको हो ।

यो दिन बजारका सबै समूहका परिसूचक घटेका छन् । बैकिंग समूह १०.८२ अंकले घटेको छ भने बिमा समूह १६९.८२ अंक, विकास बैंक ११.४८, माइक्रोफाइनान्स समूह २३.९७ अंकले घटेका छन् । यस्तै, होटल समूह २०.२८, जलविद्युत समूह ७.९४ अंक, बित्त समूह ०.५१, उत्पादनमूलक २७.८९ अंक, अन्य समूह ७.४४ र व्यापारिक समूह ०.८४ अंकले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप बढेका कारण सेन्सेटिभ इण्डेक्स ३.१९ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.९७ अंकको गिरावट देखिएको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५७ कम्पनीका १५ लाख ७४ हजार ४ सय ८१ कित्ता सेयर ३७ करोड ४८ लाख ९५ हजार ९ सय १० रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ८२ लाख बढीको कारोबार गरेको छ । यस्तै, एभरेष्ट बैंकले २ करोड १० लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ४९ लाख, सानिमा माई हाइड्रोले १ करोड ३६ लाख, नवील बैंकले १ करोड ३० लाख, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले १ करोड १२ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ९९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा दोहोरो अंकको पहिरो गएको दिन फरवार्ड माइक्रोफाइनान्सले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ५.१६ प्रतिशतले वृद्धि भयो । 

भारी परिमाणको हकप्रद जारी गर्न नपाएको एभरेष्ट इन्स्योरेन्सको मूल्यमा मंगलबार झै बुधबार पनि पहिरो गयो । यो दिन पनि यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो ।