– अनन्त्य सुन्दर

काठमाण्डौ । झन्डै ३२०० हाराहारी पुगेको नेप्से परिसूचक १० महिनाको समयावधिमा नै २००० को लाइनमा आएको छ। 

गत भदौ २२ गते नेप्से परिसूचक ३१९८.६० हुँदा २१ अर्ब ६४ करोड कारोबार भएको थियो। आज नेप्से परिसूचकमा ३४.३० अंकको गिरावट हुँदा बजार २०७८.७० मा बन्द भएको छ। त्यस्तै आज बजारमा एक अर्ब ३० करोड रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्से परिसूचकमा झन्डै ११०० अंकको पहिरो आउनुको प्रमुख कारण नै ४–१२ को नीति रहेको लगानीकर्ता, ब्रोकर, मर्चेन्टका साथै अन्य बजार जानकारहरु बताउँदै आएका छन्। राष्ट्र बैंकले जारी गरेको उक्त नीति खारेज गर्ने मागसहित लगानीकर्ताहरु संगठित भएर आन्दोलनसमेत गरेका थिए। तर, लगानीकर्ताको उक्त आन्दोलन बालुवामा पानी हालेसरह भयो।

निरन्तर बढ्दो क्रममा रहेको नेपाली सेयर बजारमा राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीति नै ‘रेड फ्ल्याग’ बन्न पुगेको जानकारहरु बताउँदै आएका छन्। मौद्रिक नीतिको बुँदा नं. ११० मा उल्लेखित विषयले बढ्दो क्रममा रहेको बजारलाई ब्रेक लाउने काम गरेको उनीहरुको आरोप छ। 

मौद्रिक नीतिको बुँदा नं. ११० मा ‘बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँमात्र लिन पाइने व्यवस्था मिलाइनेछ’ भनी उल्लेख गरिएको छ। त्यसका साथै नीति जारी भएको केही दिनमा राष्ट्र बैंकले एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सेयर कर्जालाई पनि एक वर्षभित्रमा मौद्रिक नीतिमा तोकिएको सीमासम्म ल्याउन निर्देशन जारी गर्यो।

अर्थात् राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुरुप बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिएका ५६७ जना ऋणीहरुले झन्डै ३३ अर्ब रुपैयाँबराबरको रकम बैंकहरुलाई एक वर्षको अवधिमा फिर्ता गर्नुपर्ने भयो। राष्ट्र बैंकले कर्जा तिर्नका लागि लगानीकर्तालाई दिएको उक्त समयसीमा असार मसान्तमा सकिँदैछ।

राष्ट्र बैंकबाट उक्त निर्देशन जारी भएसँगै बजार बुझेका केही लगानीकर्ताले भने समय हुँदा नै बढ्दो बजारमा आफूसँग भएको सेयर बेचेर ऋण तिर्न सफल भएको ब्रोकर सञ्चालकहरु बताउँछन्। ‘तर, सेयर धितो कर्जा लिएका अधिकांश लगानीकर्ता भने ४–१२ को नीति संशोधन हुने आशामा नै बस्दा आज ती लगानीकर्तालाई घाटामा नै सेयर बेच्न बाध्यात्मक अवस्था सिर्जना भएको छ’, उनीहरु भन्छन्।

अधिकांश लगानीकर्ता मौद्रिक नीतिको समीक्षामा ४–१२ नीति परिमार्जन हुनेमा आशावादी थिए। राष्ट्र बैंकले पहिलो, दोस्रो र तेस्रो समीक्षामा जारी गर्यो। तर, ४–१२ को नीतिलाई कुनै पनि समीक्षाले सम्बोधन गरेन। लगानीकर्ता नीति परिमार्जन हुने आशामा बस्दै गर्दा आज उनीहरुसँग न त सेयर कर्जा तिर्ने पुँजी छ। न त घाटामा सेयर बेच्ने अवस्था नै।

नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत अन्य नियामक निकायबाट समयमै घट्दो बजारलाई सम्बोधन नगर्ने हो भने बजारमा अझ पहिरो आउने एक ब्रोकर सञ्चालक बताउँछन्। ‘बजारका अर्बौं सेयर कर्जा भएका ठूला लगानीकर्ता ४–१२ को क्याप हट्नेमा आशावादी थिए’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘मौद्रिक नीति आउँदा साना तथा नयाँ लगानीकर्तालाई प्यानिक भएर सेयर नबेच्न भनेर सम्झाउने तिनै ठूला लगानीकर्ता आज प्यानिक भएर घाटामा नै सेयर बेच्न बाध्य भएका छन्।’

राष्ट्र बैंकबाट असार मसान्तसम्म लगानीकर्तालाई आफूसँग भएको ऋण १२ करोडमा झार्न दबाब छ। ‘बजारमा तरलता संकटका कारण लगानीकर्ताहरुले अन्य स्रोतबाट पुँजी ल्याएर कर्जा तिर्ने अवस्था पनि छैन। मौद्रिक नीतिको समीक्षामा पनि ४–१२ को नीतिलाई केही सम्बोधन भएन’, ती ब्रोकर सञ्चालकले भने, ‘अब बजारका कहलिएका ठूला लगानीकर्ता पनि कर्जा तिर्नका लागि प्यानिक भएर घाटामा नै सेयर बेच्न सुरु गरेका छन्। त्यसैले सेयर कर्जा तिर्ने समय अवधि नथप्ने हो भने बजार अर्को ठूलो पहिरोको तयारीमा छ।’

‘बजार घट्दै गर्दा अहिले सर्वाधिक बैंक र लघुवित्त कम्पनीहरुको मूल्यमा गिरावट आएको छ’, अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘अधिकांश ऋणीहरुले सेयर धितोमा बैंक, लघुवित्तहरुको सेयर राखेको पाइन्छ। अब लगानीकर्ताहरुसँग सेयर कर्जा तिर्न आफूसँग भएको सेयर घाटामा नै भए पनि बेच्नबाहेक अन्य उपाय छैन। त्यसैले मौद्रिक नीतिको समीक्षापश्चातको विगत केही दिनको बजार हेर्दा बजारमा यी क्षेत्रका कम्पनीहरुको सप्लाई आएसँगै मूल्यमा भारी गिरावट आएको देखिन्छ।’

‘राष्ट्र बैंकले सेयर धितो कर्जा तिर्ने समय सीमा नथप्ने हो भने नेप्से परिसूचकमा भारी अंकको गिरावट आउनुका साथै बजार बजारमा भयावह अवस्था सिर्जना नहोला भन्न सकिन्न’, उनले भने।