काठमाण्डौ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको दृष्टिकोणले उच्च जोखिमयुक्त क्षेत्रको सूचिमा राखेसँगै सरकारले समेत आवश्यक पूर्व तयारीलाई तीव्र पारेको छ । 

यो क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सरकारको तर्फबाट नागरिकहरुलाई ठूला सभा सम्मेलन तथा भोजभतेर नगर्न आह्वान गरेका छन् । 

ठूला सभा, सम्मेलन, भोजभतेर तथा धेरै मानिस जम्मा हुने क्षेत्रमा कोरोना भाइरसको संक्रमण फैलिने भएका कारण सरकारले यस्तो आह्वान गरेको हो । 

आइतबार स्वास्थ्यमन्त्री ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरेर यस्तो आह्वान गरेका छन् । मन्त्रीको आह्वान त्यस्तो बेला आएको छ, जुन बेला कोरोना संक्रमणको आशंकामा २ नेपालीलाई काठमाण्डौको टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको समाचार बाहिरिएको छ । 

ढकालले पत्रकारहरुको जवाफ दिने क्रममा संक्रमण फैलिन नदिन आवश्यक परे विमानस्थल नै पूरै बन्द गर्ने विषयमा समेत छलफल भइरहेको बताउँदै भने–‘अप्ठेरो अवस्था आए अन्तराष्ट्रिय उडान पनि रोक्न सकिनेछ ।’

ढकालका अनुसार कोरोनाको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी थालेको छ । पहिलो चरणमा सरकार, नागरिक र सरोकारवाला सबैले आवश्यक सावधानी अपनाउने र सोही क्रममा नेपालका सीमा नाकाहरुमा अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको उनले जानकारी दिए । यसैका लागि तातोपानी र रसुवा जस्ता चीनसँग सीमा जोडिएका नाकाहरुमा क्वारेन्टाइन राखिसकिएको छ । 

त्यसपछि सरकारले संक्रमितहरुलाई राख्न आवश्यक शैयाहरुको भरपर्दो व्यवस्था गरिसकेको छ । त्यसकालागि देशभरका प्रमुख अस्पतालहरुका विशेष वार्डहरुलाई संक्रमित उपचारका लागि विशेष ढंगले सुरक्षित गर्न सकिने उनको भनाई छ । 

पछिल्लो समय कोरोना भाइरसका कारण आधा विश्व त्रस्त बनिसकेको छ । चीनमा कोरोनाको प्रभाव कम हुँदै जाँदा त्यसले नेपालीहरु वैदेशिक रोजगारीमा गएका खाडी मुलुक, कोरिया, जापान तथा नेपालको छिमेकी भारतमा समेत भयावह रुप लिन थालेको छ । अत्यन्त तीव्र गतिमा मानिसबाट मानिसमा फैलिने संक्रमण भएका कारण समेत सरकारले रोकथामको विशेष तयारी गरेको ढकालले जानकारी दिए । 

उनले यूरोपीय र अमेरिकी देशहरुलेजस्तै नेपालले समेत कोरोनाबाट धेरै संक्रमित मुलुकसँगको हवाई उडान बन्द गर्न लागेको समेत जानकारी दिए ।