काठमाण्डौ । बजार निरन्तर घटिरहेको बेला नै लगानी गर्न चाहनेहरुका लागि स्वर्णिम अवसर हो । बजार घटेर न्यून विन्दूमा झरेको बेला नै लगानीकर्ताले राम्रा कम्पनीको सेयर समेत अपत्यारिलो मूल्यमा पाउन सक्छन् । नेपाली सेयर बजारमा अहिले ठ्याक्कै त्यस्तै अवसर छ । बजार निरन्तर घटेर ११ सयको ओरालो यात्रातर्फ उन्मुख भएको बेला लगानीका लागि आकर्षक मानिने वाणिज्य बैंकहरुकै सेयर आइपीओ मूल्यकै हाराहारीमा पाउन थालिएको छ ।
दोश्रो बजारमै केही वाणिज्य बैंकको मूल्य घटेर निकै न्यून विन्दूमा झरिसकेको छ । अहिले बजारमा सबैभन्दा सस्तो वाणिज्य बैंकको सेयर सिभिल बैंकको रहेको छ । यो बैंकको सेयर दोश्रो बजारमा १४७ रुपैयाँमै फालाफाल छ । यो भनेको आइपीओ मूल्यभन्दा ४७ रुपैयाँले मात्र बढी हो ।
यस्तै, जनता बैंक नेपालको मूल्य घटेर १५० मा झरिसकेको छ भने मेगा बैंकको मूल्य १५३ मा सीमित बन्न पुगेको छ । तत्कालीन टुरिजम डेभलपमेन्ट बैंकलाई आफूमा गाभेर चुक्तापूँजीको हिसाबले देशकै ठूलो बैंक बनेको मेगालाई लगानीकर्ताले भने पत्याइदिएका छैनन् । एक्वीजिसनको नाममा लगानीकर्ताको लगानी महिनौ बन्धक बनाएको मेगाप्रति सर्वसाधारण लगानीकर्ताको आकर्षण देखिन्न । यहीकारण एक्वीजिसनपछि लगातार घट्दो क्रममा रहेको मेगाको मूल्य मूल्य समायोजनपछि झनै घटेको हो । त्यसपछि पनि यो बैंकको सेयर मूल्य घट्ने क्रम रोकिएको छैन ।
दोश्रो बजारमा सस्तोमा सेयर पाइने वाणिज्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक र प्रभू बैंक पनि हुन् । सेञ्चुरीको सेयर १६३ रुपैयाँमै फालाफाल छ भने प्रभू बैंकको सेयर समेत १८२ मै पाइराखिएको छ ।
अन्य कम्पनीको हालत पनि उस्तै
बजारमा केही कम्पनीको सेयर आइपीओ मूल्यमै पाइराखिएको छ । जेबिल्स फाइनान्स, गोर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर आइपीओ मूल्यकै हाराहारीमा पाइराखिएको छ । जेबिल्सको प्रतिकित्ता १०२, गोर्खाजको १०४ र कर्पोरेटको पनि १०२ मा सेयर खरीद गर्न पाइने अवसर रहेको छ ।
यस्तै, सेन्टल फाइनान्सको सेयरको अन्तिम बिक्री मूल्य ११७, भार्गव विकास बैंकको १२५, गुड्विल फाइनान्सको १२३, रिलायन्स फाइनान्सको ११८ र वल्र्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको ११८ रुपैयाँ रहेको छ ।
वाणिज्य बैंकपछि लगानीकर्ताको छनौटमा पर्ने राष्ट्रिय स्तरको विकास बैंकको अवस्था समेत उस्तै छ । देशमा हाल ११ वटा राष्ट्रिय स्तरका विकास बैंक छन् । जसमध्ये हाल सबैभन्दा सस्तो मूल्यमा देवः विकास बैंकको सेयर किन्न पाइन्छ । यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा १३० रुपैयाँ रहेको छ । यो कम्पनीले पनि साधारणसभा समयमा नगरेर लगानीकर्ताको विश्वास गुमाइसकेको छ । यसैको प्रतिबिम्ब कम्पनीको मूल्यमा झल्किएको हो ।
ज्योति विकास बैंकको मूल्य १३५ रुपैयाँ छ भने गण्डकी विकास बैंकको १८४, गरिमा विकास बैंकको १७२, लुम्बिनी विकास बैंक १४२, महालक्ष्मी विकास बैंक १६६ र ओम डेभलपमेन्ट बैंकको १७२ रुपैयाँ रहेको छ ।
नेशनल हाइड्रोको सेयर आइपीओ भन्दा पनि सस्तो प्रतिकित्ता ७८ रुपैयाँमै फालाफाल छ ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago