काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हाल विश्वभर आधिकारिक रुपमा आइरहेको कोरोनाबाट भएको मृत्यु आँकडा वास्तवमा त्योभन्दा २–३ गुणा अधिक रहेको दाबी गरेको छ। 

डब्ल्यूएचओका अनुसार हाल विश्वभरको आधिकारिक आँकडाअनुसार अहिलेसम्म ३४ लाख मानिसको कोरोनाबाट मृत्यु भएको छ। तर डब्ल्यूएचओको वार्षिक प्रतिवेदनमा भने कोरोनाबाट हुने मृत्युको आँकडा ६० लाखदेखि ८० लाखको बीच रहेको हुन सक्ने अनुमान गरिएको छ। ‘सन् २०२० मा कम से कम ३० लाख मानिसको कोरोनाबाट मृत्यु भएको आधिकारिक तथ्यांक छ तर त्योभन्दा १२ लाख बढीको मृत्यु कोरोनाबाट भएको हुन सक्छ’, प्रतिवेदनमा भनिएको छ। 

प्रत्यक्ष होस वा अप्रत्यक्ष रुपमा कोरोनाबाट हुने मृत्युको आँकडा वास्तविक मृत्यु आँकडाभन्दा कम रहेको प्रतिवेदनमा उल्लेख छ। डब्ल्यूएचओकी सहायक प्रबन्ध निर्देशक समिरा असमाले भनिन्, ‘वास्तवमा कोरोनाबाट मृत्यु हुनेको संख्या २–३ गुणा बढी रहेको हुन सक्छ । म दाबीका साथ भन्न सक्छु कि हालसम्म कोरोनाबाट ६० देखि ८० लाखको बीचमा मानिसहरुको कोरोनाबाट मृत्यु भइसकेको छ।’

मृत्युको आँकडा कम हुनुमा विभिन्न कारण रहेको हुन सक्ने डब्ल्यूएचओले जनाएको छ । ‘यो महामारी सुरुआतमा थुप्रै मानिसको मृत्यु भएको थियो तर उनीहरुमा कोरोना पुष्टि हुन बाँकी थियो’, प्रतिवेदनमा भनिएको छ। 

अझ कतिपय देशले सुरुआती अवस्थामा कोरोनाबाट मृत्यु भएकाहरुको आधिकारिक तथ्यांक राख्न नै सुरु नगरेका कारण पनि मृत्यु आँकडा थोरै देखिएको हुन सक्ने डब्ल्यूएचओले जनाएको छ। – एजेन्सी