काठमाण्डौ । अमेरिकी डलरको भाउमा पहिरोमाथि पहिरो गइरहेको छ । अघिल्लो आइतबार १०३ रुपैयाँको स्तरमा रहेको डलरको भाउ घटेर आइतबार १०२ रुपैयाँको स्तरमा झरेको छ । 

भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण अमेरिकी डलरको तुलनामा भारु बलियो हुँदा नेरु पनि बलियो देखिएको हो।

गत आइतबार अमेरिकी डलरको खरीद दर १०३ रुपैयाँ ४६ पैसा र बिक्री दर १०४ रुपैयाँ ६ पैसा रहेको थियो । एकसातापछि आइतबार भने नेपाल राष्ट्रबैंकले अमेरिकी डलरको खरीद दर १०२ रुपैयाँ ४१ पैसा र बिक्री दर १०३ रुपैयाँ १ पैसा कायम गरेको छ । 

यसअघि सन् २०१५ अगस्टमा अमेरिकी डलरको भाउ १०२ रुपैयाँकै न्यून विन्दूमा झरेको थियो।

पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर कमजोर बन्दै गएको छ । डलर कमजोर बन्दै गएपछि स्वदेशी मुद्रा बलियो देखिएको हो । एशियाली विकास बैंक र अन्तराष्ट्रिय मुद्रा कोषले समेत नेपालको चालुु आर्थिक वर्षको वृद्धिदर ३० वर्षयताकै उच्च हुने प्रक्षेपणका बीच समेत अमेरिकी डलरको भाउ घटिरहेको कतिपयको तर्क छ । 

यस्तै, भारतीय मुद्रासँग नेपाली मुद्राको विनिमयदर स्थिर रहेका कारण अमेरिकी डलरको तुलनामा भारु बलियो हुँदा नेरु पनि बलियो देखिएको हो। खासगरी भारतको विधानसभा चुनावमा उत्तरप्रदेशमा भारतीय जनता पार्टीको गठबन्धन निर्वा्िचत भएसँगै त्यहाँको अर्थतन्त्रमा सुधारको अडकलबाजी गरिएको छ। यसबाट भारतीय मुद्रा बलियो हुँदै गएको हो ।

अधिकांश भागमा प्रधानमन्त्री नरेन्द्र मोदीकै दल भाजपाले जितेपछि उनी नेतृत्वको सरकार बलियो हुने भएकाले आर्थिक सुधारको गति तीब्र हुने अपेक्षा गरिएको छ। विधानसभामा भाजपाको बहुमत हुने देखिएपछि पुनः मोदीकै सरकारले निरन्तरता पाउने अडकलबाजीहरू गरिएका छन्। 

यो वर्ष चाहि डलरको अवमूूल्यन यात्रा २० माघदेखि सुरु भएको थियो । सो बेला माघ १९ मा १०८ को स्तरमा रहेको डलरको मूल्य १०७ को स्तरमा झरेको थियो । त्यसपछि डलरको खरीद दर १०६ को स्तरमा निरन्तर रहिरहेकोमा चैत २ गते बुधबार केही तल झरेको थियो । सो दिन डलरको खरीद दर १०५ रुपैयाँ ५८ पैसा र बिक्री दर १०६ रुपैयाँ १८ पैसा कायम भएको थियो । 

विज्ञहरुका अनुसार डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेको छ, यहीकारण समेत डलर तीव्र अवमूल्यनमा परेको छ । अर्कोतर्फ, बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय गर्न लागेकोले समेत डलरमा त्यसको प्रभाव देखिएको बताइएको छ । 

नेपालमा के प्रभाव पर्छ ?
डलरको भाउ वर्षभरिकै तल्लो स्तरमा झर्दा हाम्रो जस्तो देशलाई नाफा पनि छ र घाटा पनि । विदेशबाट आयात हुने सामान डलरको भाउ घट्दा सस्तिनेछ भने निर्याततर्फको आम्दानी घट्नेछ।

यस्तै, देशले तिर्नुपर्ने वैदेशिक ऋणको भार डलरको भाउ घटेपछि कम पर्नेछ भने विदेशबाट रेमिटान्सको रुपमा नेपाल भित्रिने रकमको आकार घट्नेछ । देशको अर्थतन्त्र रेमिटान्समा आधारित छ, यसको अर्थ डलरको भाउ घटेर रेमिटान्स घट्दा यसले धेरै पक्षलाई नकारात्मक प्रभाव पार्नेछ । डलरको भाउ घट्दा पेट्रोलियम मूल्य समेत केही घट्नसक्छ । यसो हुन सकेको खण्डमा सार्वजनिक यातायात तथा ढुवानी खर्च कम भई उपभोक्ता मुद्रास्फिति समेत कम हुनेछ ।