काठमाण्डौ । अमेरिकी डलर र यूरोको मूल्य अचाक्ली बढ्न थालेको छ । यी दुवै मुद्राको अवस्था सवल बन्दै जाँदा नेपाली मुद्राको अवमूल्यन पनि तीव्र गतिमा हुन थालेको छ । 

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र समस्यामा फसिरहेको बेला अमेरिकी डलरको मूल्यमा तीव्र बढोत्तरी भएको हो । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्बले केही दिनअघि देशको अर्थतन्त्र जोगाउन ब्याजदरमा २००८ पछिकै भारी कटौतिको घोषणा गरेको थियो । यसले अर्थतन्त्र र आर्थिक गतिविधिलाई राम्रो टेवा पुगेसँगै अमेरिकी डलर झनै सवल बन्दै गएको हो । 

नेपाली मुद्रालाई अमेरिकी डलरको भाउमा भएको उतारचढावले सोझै असर पर्दैन । तर, भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकोले भारुको मूल्य तलमाथि हुँदा त्यसको सोझो असर नेरुमा पर्ने गर्छ । अहिले पनि त्यही भएको हो । 

नेपाली बजारमा अमेरिकी डलरको मूल्य विगत १६ महिनाकै सर्वाधिक उचाईमा पुगिसकेको छ ।

नेपाल राष्टबैंकका अनुसार एक अमेरिकी डलर खरीद गनलाई ११८.३२ रुपैयाँ चाहिने अवस्था आइसकेको छ । शनिवार केन्द्रीय बैंकले अमेरिकी डलरको खरीद दर ११७.७२ रुपैयाँ र बिक्रीदर ११८.३२ रुपैयाँ तोकेको छ । 

अमेरिकी डलरको भाउ मार्च महिनाको ७ दिनमै २.१७६१ प्रतिशतले बढिसकेको छ । मार्च १ मा अमेरिकी डलरको बिक्री दर ११५.८० रुपैयाँ रहेको थियो । जब कि त्यो मूल्य बढेर मार्च ७ अर्थात शनिवार ११८.३२ रुपैयाँ पुगिसकेको छ । 

सन् २०१८ को अक्टूबर ३१ तारिखका दिन अमेरिकी डलरको खरीद दर ११७.५९ रुपैयाँ र बिक्री दर ११८.१९ रुपैयाँ कायम भएको थियो । त्यसपछि नोभेम्बरमा १ मा खरीद दर ११८.०३ रुपैयाँ र बिक्री दर ११८.६३ रुपैयाँ कायम भयो । त्यसपछि हालसम्म कुनै पनि दिन अमेरिकी डलरको भाउ ११८ माथि पुगेको थिएन । 

अमेरिकी डलर मात्र नभई यूरो डलरको भाउमा समेत अचाक्ली बढोत्तरी भइरहेको छ । 

यूरो समेत विगत १६ महिनौ सर्वाधिक उचाईमा पुगेको छ । मार्च महिनाका ७ दिनमा मात्रै यूरोको मूल्य ५.६३ प्रतिशतले बढिसकेको छ । मार्च १ मा एक यूरोको खरीद तथा बिक्री दर क्रमशः १२६.८८ र १२७.५४ रुपैयाँ रहेको थियो । मार्च ७ मा त्यो मूल्य बढेर खरीद दर १३३.३८ रुपैयाँ र बिक्री दर १३४.०६ रुपैयाँको उचाईमा पुगिसकेको छ। 

यूरोको मूल्य यसअघि सन २०१८ को सेप्टेम्बर १४ का दिन १३४.६५ रुपैयाँ पुगेको थियो । त्यसपछिका कुनै पनि दिन यूरोको मूल्य बढेर १३३ माथि पुगेको थिएन । 

के घाटा, के नाफा ?
अमेरिकी डलर र यूरोको मूल्य बढ्दा नेपालजस्तो मुलुकलाई नाफा थोरै, घाटा बढी हुने गर्दछ । नेपालको अर्थतन्त्र आयातमुखी हो । यहाँ आवश्यक अधिकांश वस्तुहरु विदेशबाटै आयात हुन्छ र त्यस्तो आयात व्यापारमा भुक्तानी  अमेरिकी डलर वा यूरोमा गर्नुपर्छ । यस्तो अवस्थामा आयात व्यापारमा संलग्नहरुको खर्च बढ्नेछ । यसले आयात हुने वस्तुको मूल्य समेत बढी सोझो असर उपभोक्ता मुद्रास्फितिमा पर्न जान्छ । 

यस्तै, देशले विदेशबाट लिएको ऋण समेत डलर वा यूरोमै भुक्तानी गर्नुपर्छ । यसले देशको व्ययभार बढाउँछ र यसले शोधानान्तर घाटा बढाउनसक्छ । 

डलर र यूरोको भाउ बढ्दा देशमा डलरको सञ्चितीमा समेत संकुचन आउनसक्छ । 

यसले व्यापार घाटालाई समेत अझ बढाइदिनेछ । विशेष गरी अमेरिका र यूरोपमा बनेका र नेपाल आयात हुने मालवस्तुको मूल्यमा अचाक्ली वृद्धि हुनसक्छ । 

अमेरिकी डलर र यूरोको भाउ बढ्दाका फाइदाहरु पनि छन् । रेमिटान्समा आधारित हाम्रोजस्तो अर्थतन्त्रमा विदेशमा बसेर कमाउने नेपाली कामदारहरुले तलब थाप्दा डलर र यूरोमा थाप्छन् । नेपालमा यी दुवै मुद्राको भाउ बढ्दा नेपालीहरुले कमाएर पठाउने पैसा बढ्छ ।

यस्तै, निर्यात व्यापारमा सहभागीहरुलाई डलरको भाउ बढ्दा फाइदा पुग्छ । देशबाट बाहिर पठाइने मालवस्तुको भुक्तानी डलरमै हुने भएकोले यस्तो क्षेत्रमा संलग्नहरु डलरको भाउ बढ्दा लाभान्वित हुने गर्छन् । 

विदेश यात्रा, विदेशको पढाई लगायतका विषयको बजेट डलरको भाउ बढ्दा बढ्नेछ ।