काठमाण्डौ । नेपाली रुपैयाँ २ महिनायताकै बलियो अवस्थामा पुुगेको छ । अमेरिकी अर्थतन्त्र कमजोर बनिरहेका कारण अमेरिकी डलर २ महिनायताकै कमजोर स्तरमा पुुग्दा नेपाली रुपैयाँ बलियो देखिएको हो । 

पछिल्लो समय भारतीय अर्थतन्त्र मजबुत बन्दै गएको छ । नोटबन्दी र जिएसटीका कारण अघिल्लो त्रैमाससम्म ५ वटा त्रैमासकै न्यून बिन्दूमा झरेको त्यहाँको आर्थिक वृद्धिदर अहिले बढेर ६.३ प्रतिशतमा पुुगेको छ। भारतीय अर्थतन्त्र बलियो बन्दा यसले नेपाली मुद्रालाई समेत बलियो बनाउँछ । कारण, भारतसँग नेपाली मुद्राको स्थिर बिनिमय दर कायम छ । यस्तो अवस्थामा भारतीय मुद्रा बलियो बन्दा नेपाली मुद्रा बलियो बन्छ भने कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर।

नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्दा भारतबाहेक तेश्रो मुलुकबाट हुने आयात खर्च कम हुन्छ । यसले नेपाली बजारमा मूल्यवृद्धि समेत कम हुने विश्लेषकहरु बताउँछन् । 

नेपाल राष्टबैंकले आइतबारका लागि एक अमेरिकी डलर बराबर १ सय २ रुपैयाँ ८५ पैसा खरीद दर र १ सय ३ रुपैयाँ ४५ पैसा बिक्री दर तोकेको छ । यसअघि असोज दोश्रो साता डलरको मूल्य १०४ रुपैयाँ ६४ पैसा थियो । कात्तिक १५ सम्मको अवधिमा १०३ रुपैयाँ ३ पैसामा डलरको भाउ झरेको थियो, जबकि यो भाउ घटेर मंसिर दोश्रो साता १०२ रुपैयाँ ८५ पैसामा झरेको छ । 

पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीचको तनाव पुनः बढेको छ। उत्तर कोरियाले ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गर्दै आफूहरुले अमेरिकासम्मै मार हान्न सक्ने प्रतिक्रिया दिएपछि यसले तनाव बढाइदिएको हो । तनाव बढेसँगै लगानीकर्ताहरुले डलरमा गरिएको लगानी धमाधम फिर्ता गरी वैकल्पिक लगानीका उपकरणहरुमा पैसा हालिरहेका छन् । यसले समेत अमेरिकी डलर अवमूल्यन भई थप सस्तो भएको हो । आगामी दिनमा उत्तर कोरियासँगको तनाव कम हुनको साटो झनै बढ्ने अवस्था छ । यसले अमेरिकी अर्थतन्त्रमा थप प्रभाव पर्ने देखिन्छ । त्रासका कारण अमेरिकी डलरमा लगानी गर्नेहरु भाग्नेछन् र यसले डलरको भाउ अझ तल झर्नसक्ने विज्ञहरुको विश्लेषण छ । 

यता, भारतको अर्थतन्त्र सुधारोन्मुख छ । जारी अंग्रेजी वर्षको अन्तिम त्रैमाससम्म त्यहाँको वृद्धिदर अझ माथि पुुग्ने विश्लेषकहरुको दाबी छ । भारतको अर्थतन्त्र थप मजबुत बन्यो भने अमेरिकी डलरको भाउ अझ धेरै अवमूल्यनमा पर्नेछ । यसले नेपाली रुपैयाँ भारतीय मुद्रासँगै थप बलियो बन्ने संभावना अधिक छ । 

नेपाललाई के फाइदा, के घाटा ?
अमेरिकी डलरको भाउ घट्दा नेपालको ठूलो आयात खर्च कटौति हुन्छ । आयातमा आधारित अर्थतन्त्र भएको नेपालजस्तो मुलुकका लागि डलरको भाउ घट्दा नै बढी फाइदा हुने देखिन्छ। भारतबाहेकका तेश्रो मुलुकबाट आयात हुने सामानको भुक्तानी सस्तो पर्न जान्छ । यस्तै, सरकारले तिर्नुपर्ने वैदेशिक ऋण समेत डलरमै दिनुपर्ने भएकोले त्यसको भार पनि कम हुन्छ । अर्कोतर्फ, डलरको भाउ कम हुँदा आयात हुने सामानको मूल्य घट्ने भएकोले मूल्यवृद्धि समेत कम हुन्छ । 

डलरको भाउ घट्दा रेमिटान्स पठाउने वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली र निर्यातकर्तालाई भने घाटा हुन्छ । वैदेशिक रोजगारीमा रहेकाहरुले तलब र पारिश्रमिक बापत डलरमा भुक्तानी पाउने भएकोले नेपालमा डलरको भाउ घट्दा यहाँ पठाउने रकम कम हुनेछ । यस्तै, तेश्रो मुलुकमा नेपालबाट सामान निर्यात गर्नेहरुले समेत डलरमै भुक्तानी पाउने भएकोले घाटा हुनेछ । तर, समग्र देशलाई भने डलरको भाउ घट्दा नै नाफा हुने विज्ञ बताउँछन् ।