Dr. Govinda KC
काठमाण्डौ । मेडिकल शिक्षाको नाममा मौलाएको विकृतिविरुद्ध बेला बेला आमरण अनसन बसेर सरकारलाई झुक्न बाध्य बनाउँदै आएका शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले अख्तियार दुरुपयोग अनुसन्धा आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध नै आमरण अनसन थाल्ने चेतावनी दिएका छन् ।
उनले अख्तियार प्रमुख कार्की भ्रष्टाचारमा लिप्त बनेको आरोप लगाउँदै उनीमाथि कडा कारबाही हुनुपर्ने लगायतका आफ्ना माग पूरा नभए आउने असार २६ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएका हुन् ।
डा. केसीले आइतबार महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको अख्तियारका प्रमुख कार्की आफैं भ्रष्ट रहेका र उनले आफन्त तथा नजिकका व्यक्तिले खोलेका मेडिकल कलेजको पक्षमा लागेर नियामक निकायका सरकारी अधिकारीलाई धम्क्याउने, ब्ल्याकमेलिंग गर्ने गरेका आरोप लगाए ।
‘लोकमानले अख्तियार प्रमुखको पदीय जिम्मेवारीको धज्जी उडाएका छन् । डा. केसीले पत्रकार सम्मेलनमा भने ः भ्रष्टहरुलाई संरक्षण दिए, कार्यक्षेत्र नाघेर केयूको प्रवेश परीक्षामा हस्तक्षेप गरे । केसीले उनीमाथि संसदबाट महाअभियोग लगाउनुपर्ने भन्दै त्यस्तो प्रक्रिया तत्काल संसदमा सुरुवात हुनुपर्नेमा जोड दिए । उनले लोकमानसिंहको भ्रष्टतन्त्रलाई साथ दिने अन्य आयुक्तहरुलाई समेत कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
डा. केसीले माथेमा प्रतिवेदनको सुझाव विपरीत काठमाण्डौमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धी संसदमा विचाराधीन विधेयक तत्काल फिर्ता हुनुपर्ने, चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गरिनुपर्ने, र आफूसँग विगतमा भएका सबै सहमति तथा सम्झौताहरुको सरकारले अक्षरंश पालना गरी सोही अनुसार कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
मागहरु पूरा गर्ने अल्टिमेटम दुई हप्ताको रहने र सो अवधिमा आफ्ना माग पूरा नभए असार २६ गतेदेखि आमरण अनसन थाल्ने उनले चेतावनी दिएका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19