काठमाण्डौ । लामो समयदेखि स्वास्थ्य क्षेत्रको विकृतिविरुद्ध लड्दै आएका डा. गोविन्द केसीले आफ्नो अभियानलाई भ्रष्टाचारविरुद्ध केन्द्रीत गर्ने भएका छन् । 

यो क्रममा उनले यसअघि पुनः थाल्ने भनेको अनसन स्थगित गर्दै नेपाल आयल निगमको जग्गा खरीद प्रकरणमा भएको भ्रष्टाचार प्रकरणको प्रमुख दोषी गोपाल खड्का र आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मालाई कारबाही गराउने बिषयमा केन्द्रीत हुने बताएका हुन् । 

बुधबार विज्ञप्ति जारी गर्दै उनले विभिन्न संचारमाध्यमहरुमा प्रमाणसहित भ्रष्टाचारका समाचार आउँदा समेत दोषीलाई कारबाही गर्ने बिषयमा सरकार गम्भीर नभएकोमा आश्चर्य प्रकट गरेका छन् ।

‘आन्तरिक राजस्व विभागका निलम्बित प्रमुखदेखि अरबौं भ्रष्टाचार र अनियमिततामा मुछिएका आयल निगमका प्रमुख गोपाल खड्का लगायत चिनिएका भ्रष्टहरुलाई राजनीतिक दलहरुले दिएको संरक्षणले भ्रष्टाचार र लुटतन्त्रलाई झनै बढावा दिएको छ । डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सञ्चार माध्यममा प्रमाणसहित भ्रष्टाचारका विवरण आउँदा पनि सरकारले बर्खास्त नगर्नु र अख्तियारले समेत छानविन नगर्नुले निरपेक्ष दण्डहीनता सिर्जना गरेको छ । त्रिवि पदाधिकारीहरुको चर्को अनियमितताबारे दर्जनौं उजुरीहरु पर्दासमेत अख्तियारले छानविन अघि नबढाउनुले पनि संवैधानिक निकायको कार्य सम्पादनमाथि प्रश्न उठेको छ । यस्तो चौतर्फी भ्रष्टाचार र दण्डहीनता पनि हाम्रो अभियानको अबको चरणको निशाना बन्ने जानकारी गराउन चाहन्छौं ।’

उनले विज्ञप्तिमार्फत नै बुधबार(भदौ २१)देखि थाल्ने भनेको अनसन स्थगित गरेका छन् । उनले चिकित्सा शिक्षा विधेयक परिमार्जनसहित संसदले पारित गर्नुपर्ने पुरानो अडानमा आफू दृढ रहेको प्रतिक्रिया समेत दिएका छन् । 

आफूसँग विगतमा भएका सम्झौता विपरीत काम भए र आफ्ना मागहरु पूरा गर्ने बिषयमा सरकार गम्भीर नभए जुनसुकै बेलादेखि अनसन थाल्ने समेत उनले चेतावनी दिएका छन् ।