काठमाण्डौ । डिजिटल उपभोक्ताको अधिकार संरक्षण गर्न नीतिगत तहमै सुधार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। 

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्यक्रमका वक्ताले कानुनमै डिजिटल उपभोक्ताको अधिकारलाई प्रस्ट पार्नुपर्ने बताएका हुन्। यसैगरी पुर्वाधार विकास र विस्तारलाई पनि बातावरण तथा उपभोक्तामैत्री बनाउनुपर्नेमा उनीहरुले जोड दिए।

काठमाण्डौको यल्लो प्यागोडा होटलमा आयोजना भएको कार्यक्रममा विभिन्न मन्त्रालय, निमायक निकायहरु, सेवा प्रदायक, उपभोत्ता अधिकारकर्मी, विज्ञ, सरोकारवाला र उपभोक्ताहरुको उपस्थिति रहेको कार्यक्रममा डिजिटल सेवा विस्तारसँगै कन्टेन्टसम्मलाई कसरी सफा र व्यवस्थित गर्ने सन्दर्भमा कार्यक्रम केन्द्रित थियो। 

प्रमुख अतिथिका रुपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले उपभोक्ता, सेवा प्रदायक, उत्पादक, नियन्त्रक लगायत सबै क्षेत्रबाट प्रविधिको प्रयोगलाई व्यवस्थित र उपभोत्तामैत्री बनाउन जोड दिनुपर्ने बताए। अहिले ग्रिन डिजिटल रुपान्तरणको अभ्यासहरु भइरहेको हुँदा अब नेपालले पनि यसतर्फ ध्यानदिएर कार्यक्रमहरु बनाउनपर्ने र सबैतर्फबाट यसलाई कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए। 

फुयाँलले आगामी बजेट र पञ्चवर्षिय कार्यक्रममा पनि यस कुरालाई सम्बोधन हुनेगरी समावेश गर्न सुझाव माग गरे।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव नेत्र सुवेदीले उपभोक्ताको अधिकार संरक्षणका लागि जनचेतना जरुरी भएको बताए। सुवेदीले पछिल्लो प्रविधिको विकासक्रमलाई ध्यानमा राख्दै मन्त्रालयले नयाँ कानुन निर्माण तथा विद्यमान कानुनको पुनरावलोकन गरिरहेकोसमेत जानकारी दिए। 

कार्यक्रमका अध्यक्ष तथा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रदूषण गर्नेले त्यसको न्यूनीकरणमा पनि काम गर्नुपर्ने बताए। एकीकृत रुपमा काम गर्ने फ्रेमवर्कको आवश्यकता औँल्याउँदै उनले डिजिटल उपभोक्ताको अधिकारमा जनचेतनाको खाँचो रहेको बताए। 

उपभोक्ता पनि आफैँ सचेत हुनुपर्ने र यससम्बन्धी कानुनलाई सुदृण गरेर उपभोक्ता अधिकारलाई अझ सुनिश्चित गर्न सकिने खनालले बताए।