काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने मूल मन्त्रका साथ विगत १६ वर्षदेखि उत्तरदायी बैंकिङको अभ्यास गर्दे आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटल माध्यमबाट सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ करिब १ वर्षअघि काठमाण्डौको दरबारमार्ग शाखाबाट सुरु गरेको कियोस्क सेवा अब काठमाण्डौ उपत्यकालगायत बाहिरका प्रदेशमा पनि विस्तार गरेको छ। 

हिजो चैत १८ गते एक समारोहका बीच उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले यो सेवा काठमाण्डौ उपत्यकाको कलंकी र नयाँबजार शाखा, कोशी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको वीरगन्ज शाखा तथा लुम्बिनी प्रदेशको हस्पिटललाइन शाखामा गरी एकसाथ ५ शाखामा सञ्चालनमा ल्याइएको हो। यसका साथै कोशी प्रद्रेशको कर्सिया, मधेश प्रदेशको धनुषाधाम, बागमती प्रदेशको सिन्धुली र भरतपुर तथा गण्डकी प्रदेशको कोल्हुवामा गरी एकसाथ ५ शाखामा एटीएम सेवाको समेत बैंकले विस्तार गरेको छ। 

निकट भविष्यमा यस्ता सेवालाई आवश्यकताअनुसार बैंकका अन्य शाखाहरुमा समेत बिस्तार गरिने योजना रहेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए। कियोस्क सेवामार्फत प्रारम्भिक रुपमा ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्नेजस्ता सेवा बैंकका कर्मचारीको सहयोग बिना नै प्राप्त गर्न सक्नेछन्। 

नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै ग्राहकको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ कियोस्क सेवाको  विस्तार गरिएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने साथै डिजिटल बैंकिङ सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ। 

सोही समारोहमा नयाँ वर्ष २०८० सालको क्यालेन्डरसमेत सार्वजनिक गरिएको थियो। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १३८ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।