काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले डिजिटल क्षमता विकास गर्न आवश्यक पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन्।

ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्। उनले भने, ‘सरकारले डिजिटल नेपालका लागि आवश्यक पूर्वाधारमा जोड दिएको छ। डिजिटल डिभाइस कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिने सरकारको अभिप्राय छ।’

डिजिटल क्षमता विकास गर्नु जरूरी रहेको उल्लेख गर्दै प्रम दाहालले पछिल्लो समय नेपालमा पनि दक्ष जनशक्ति उत्पादन हुँदै गइरहेको पनि जानकारी गराए। सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनको भनाइ छ।

‘अनुसन्धान, आविस्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था बजेमा गरिसकेका छौँ’, दाहालले भने, ‘यसले थप आईसीटी प्रर्द्धनमा टेवा पुग्ने विश्वास छ।’

दाहालले सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई–कमर्स नीतिलगायतका आवश्यक कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याइने बताए। ‘सरकार सूचना प्रविधि ऐन, साइबर नीति ऐन, ई–कमर्स नीति लगायत कानुन पारित गरेर छिटो कार्यान्वयनमा ल्याउनेछौँ’, उनले भने, ‘यसका लागि डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरेर समयानुकूल बनाउनेछौँ।’