काठमाण्डौ । पछिल्लो समय विभिन्न कम्पनीहरुले साधारण सेयर (आईपीओ) ल्याउने क्रम बढेको छ। 

विशेषगरी कोभिडको समयमा प्राथमिक बजारमा चमक आएको थियो। त्यो बेला सेयर बजारमा भित्रिनेको संख्या पनि ह्वात्तै बढेको थियो। 

अहिले पनि धमाधम आईपीओहरु निष्कासन भइरहेको छ। तर, आवेदन दिनेको संख्या भने केही घट्न पुगेको छ। कुनै बेला आईपीओमा २५–२६ लाख आवेदन पर्ने गरेकोमा अहिले २० लाख आवेदन पुग्न गाह्रो देखिएको छ। 

गत आर्थिक वर्ष सेयर बजारका लागि निराशजनक रह्यो। विभिन्न नीतिगत व्यवस्थाले सेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बने। सोही कारण आईपीओमा आवेदन कम भर्न थालेको जानकारहरु बताउँछन्।

सीडीएससीको पछिल्लो तथ्यांकअनुसार डिम्याट खाता खोल्नेको संख्या ५३ लाख नाघेको छ। सीडीएससीका अनुसार आज शुक्रबारसम्म ५३ लाख ९३१ वटा डिम्याट खाता खुलेका छन्।

ताजा तथ्यांकअनुसार मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ४४ लाख नाघेको छ। शुक्रबारसम्म मेरो सेयर प्रयोगकर्ताको संख्या ४४ लाख १ हजार ५७ पुगेको छ।