– भक्तराज रसाइली 

काठमाण्डौ । बढ्दो सेयर बजारबाटै मनग्य कमाइ हुन थालेपछि पछिल्लो समय डिम्याट खाता खोल्नेको संख्या ह्वात्तै बढेको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आजसम्म ७६ डीपीमार्फत २५ लाख ३४५ डिम्याट खाता खुलेका छन्।

जसरी आफूसँग रहेको नगद बैंकमा जम्मा गर्न बैंक खाता आवश्यक पर्छ, त्यसरी नै सेयर बजारको प्रवेशका लागि पनि डिम्याट खाता अनिवार्य छ। प्राथमिक बजार तथा दोस्रो बजारमा पाइला टेक्न सुरुमा नभई नहुने डिम्याट खातामा हिजोआज अफरका बाढी आएका छन्। डिम्याट खाता खोल्नकै लागिसमेत मर्चेन्ट बैंकहरु लगानीकर्तालाई तान्न थुपै्र आकर्षक स्किम ल्याएका छन्।

यस्ता छन् मर्चेन्ट बैंकहरुका स्किम

वेल्थ मेनेजमेन्ट एन्ड मर्चेण्ट बैंकिङ लिमिटेड 

वेल्थ मेनेजमेन्टले डिम्याट खाता केबल १० मिनेटमा खोलिरहेको दाबी गरेको छ। अन्य डीपीमार्फत डिम्याट खाता खोल्न २–३ दिन समय लाग्ने गरेकोमा वेल्थ मेनेजमेन्टले आवश्यक सम्पूर्ण कागजात भएको खण्डमा १० मिनेटभित्रै डिम्याट खाता र मेरो सेयर सुविधा प्रदान गर्दै आइरहेको छ।

एनआईसी एसिया क्यापिटल

नेपाल धितोपत्र बोर्डकै स्लोगनलाई आत्मसाथ गरेको एनआईसीले डिम्याट खाता खोल्दा ४ वर्ष भुक्तानी गरेको खण्डमा ५ वर्षसम्म नवीकरण गर्न नपर्ने योजना ल्याएको छ। तथापि केही दिनभित्रै क्यापिटलले डिम्याट खातालाई दृष्टिगत गर्दै नयाँ स्किम ल्याउने योजना बनाएको छ। क्यापिटलमा डिम्याट खाता खोल्दा प्राथमिक बजार तथा दोस्रो बजारमा सेयर किनबेच हुँदा सम्बन्धित व्यक्तिको मोबाइलमा निःशुल्क नोटिफिकेसन जाने व्यवस्थासमेत गरेको छ। 

एनआईसी एसिया बैंकको वेबसाइटमा गएर मेरो सेयर र सीआरएन नम्बर लिन सक्ने अनलाइन सुविधासमेत रहेको क्यापिटलले जनाएको छ।

एनआईबीएल एस क्यापिटल लिमिटेड

एनआइबीएल एस क्यापिटलले हाल १ दिनभित्रै डिम्याट खाता खोल्ने सुविधा दिइरहेको छ भने डिम्याट खाता र मेरो सेयर निःशुल्क गरेको जनाएको छ।

प्रभु क्यापिटल लिमिटेड

प्रभु क्यापिटलले विन्टर अफर ल्याएको छ। यस अफरअन्तर्गत प्रभु क्यापिटलले पुस मसान्तसम्म निःशुल्क डिम्याट खाता र मेरो सेयर सुविधा प्रदान गरिरहेकोमा यो सुविधा हालका लागि आगामी माघ ८ गतेसम्म बढाएको छ। क्यापिटलले पनि १ दिनभित्रै डिम्याट खाता र मेरो सेयर सुविधा प्रदान गर्ने जनाएको छ। 

ग्लोबल आईएमई क्यापिटल लिमिटेड

ग्लोबल आईएमई बैंकमा सेयर लगानी खाता (बैंक खाता) खोलेको खण्डमा पहिलो वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर सुविधा प्रदान गरेको जनाएको छ।

नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङ लिमिटेड

नबिल इन्भेस्टमेन्टले हालसम्मकै सबैभन्दा नयाँ र नौलो स्किम ल्याएको छ। नबिलले ल्याएको स्किमअन्तर्गत रु. ३ हजारमा आजीवन डिम्याट खाता र  मेरो सेयर निःशुल्क प्रदान गरेको जनाएको छ।

सिद्धार्थ क्यापिटल लिमिटेड

सिद्धार्थ क्यापिटलले भने आफ्नै सिद्धार्थ बैंकमा बैंक खाता खोलेको खण्डमा पहिलेदेखि नै निःशुल्क डिम्याट खाता र मेरो सेयर सुविधा प्रदान गरिरहेको छ।

मेगा क्यापिटल लिमिटेड

मेगा क्यापिटलले आगामी साताको सोमबार डिम्याट खाताका लागि नयाँ आकर्षक योजना ल्याउने जनाएको छ।

मुक्तिनाथ क्यापिटल लिमिटेड

यो क्यापिटले अर्को सूचना जारी नभएसम्मका लागि निःशुल्क डिम्याट खाता खोलिरहेको जनाएको छ भने मेरो सेयरको चाहिँ शुल्क लाग्ने बताइएको छ।

एनएमबी क्यापिटल लिमिटेड

एनएमबी क्यापिटलले २४ घन्टाभित्रै डिम्याट खाता र मेरो सेयर सु्विधा प्रदान गर्दै आइरहेको जनाएको छ।