काठमाण्डौ । लामो समयपछि धमाधम कम्पनीहरुले आईपीओ निष्कासन गर्न थालेपछि डिम्याट खोल्नेको संख्या पनि पछिल्ला दिनहरुमा बढ्न थालेको छ। 

झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओको अनुमति दिएको थियो। तीमध्ये केही कम्पनीले आईपीओ जारी गरिसकेका छन् भने केही आईपीओ निष्कासनको तयारीमा छन्। 

योसँगै आईपीओ भर्नकै लागि डिम्याट खोल्नेको संख्या पनि बढ्न थालेको हो।

सीडीएससीका अनुसार आजसम्म डिम्याट खाता खोल्नेको संख्या झन्डै ५० लाख पुगेको छ। अहिलेसम्म डिम्याट खाता खोल्नेको संख्या ४९ लाख ७२ हजार ९०२ पुगेको सीडीएससीले जनाएको छ। 

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४१ लाख नजिक पुगेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४० लाख ८२ हजार ६१५ पुगेको छ। 

‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। सेयर बेचेपछि प्रयोगकर्ताले मेरो सेयरमार्फत आफूले बेचेको सेयर ईडीआईएस (सेयर हस्तान्तरण) गर्नुपर्छ।