काठमाण्डौ । डेरी उद्योगीहरुले दूग्ध विकास संस्थान (डीडीसी) ले कायम गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका छन्।

नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले आज राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा डेरी उद्योगीहरुले डीडीसीले निर्धारण गरेको दूधको उपभोक्ता मूल्य नमान्ने बताएका हुन्। 

डीडीसी ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएर ८५ रुपैयाँ कायम गरेको छ। जसअनुसार आधा लिटर दूधको मूल्य ४२.५० रुपैयाँ पर्न आउँछ । तर, डेरी उद्योगीहरुले संस्थानले निर्धारण गरेको यो मूल्य नमान्ने बताएका छन्। 

यसअघि डीडीसी ले उपभोक्ता मूल्य ८६ रुपैयाँ तोक्ने बताइएको थियो । तर, सोअनुसार मूल्य नतोकिएपछि डीडीसीको निर्णय नमान्ने र उपभोक्ता मूल्य ८६ रुपैयाँ नै लिने डेरी उद्योगीहरुले उद्घोष गरेका छन्। 

एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले डीडीसीले निर्धारण गरेको उपभोक्ता मूल्य अव्यवहारिक र अवैज्ञानिक भएको बताए। ‘हामीले प्रतिलिटर रु. १० बढाउने निर्णय गरेका छौँ’, उनले भने।