– अनन्त्य सुन्दर

काठमाण्डौ । राहदानी विभागमा हिजोआज दिनहुँ सयौँको संख्यामा नयाँ राहदानी बनाउन र पुरानो नवीकरण गर्नेहरुको लस्कर लाग्न थालेको छ। राहदानी बनाउने अधिकांश युवावस्थाका छन्। 

अमेरिकाका लागि डीभी भर्नका लागि पासपोर्ट बनाउनका लागि आएको अधिकांश बताउँछन्। राहदानी बनाउनकै लागि भनेर सयौँ युवा प्रचण्ड घाममा बिहानदेखि उभिएका छन्। 

अहिले अमेरिकाका लागि ६ महिनाभित्र खिचिएको फोटोका साथै राहदानी पनि पेस गर्न अनिवार्य छ। पासपोर्ट जिल्लाबाट बनाउनका लागि १५ देखि ४५ दिनसम्म लाग्ने भएकाले छिटो राहदानी बनाउन युवाहरु काठमाण्डौको नारायणहिटीस्थित राहदानी विभागमा आउने गरेका छन्। राहदानी विभागमा २ दिनमै राहदानी बनाउन सकिन्छ। तर अहिले राहदानी बनाउनेहरुको संख्या बढेसँगै केही दिन ढिलो हुने देखिन्छ।

बाराकी रेखा यादव बिहान ९ बजेदेखि लाइनमा बसेकी छन्। यादव भन्छिन्, ‘डीभीको म्याद सकिन केही दिनमात्र बाँकी छ। त्यसैले डीभी भर्न छुट्छु कि भनेर जिल्लाबाट सिफारिस लिएर राहदानी बनाउन आएकी छु।’

वैदेशिक रोजगारका लागि जान लागेका लमजुङका सुधीर गुरुङ राहदानी नवीकरणका लागि आएको बताउँछन्। गुरुङ भन्छन् ‘यहाँ काम छिटो हुन्छ भनेर आएको झन् ढिलो हुने भयो। आफ्नो मान्छे भित्र हुँदा त सजिलै काम हुने रहेछ।’

‘आज टोकनमात्र दिँदैछ। पालो आउने कहिले हो कहिले ?’, धरानका दिपेश विक भन्छन्, ‘बिहानदेखि लाइनमा छु। अब बल्ल पालो आउन आँट्यो।’

लाइनमा सँगै बसेको साथीसँग पालो–पालो गर्दै खाना खाएर लाइनमा बसेको बिक बताउँछन्।

‘भान्जालाई अस्ट्रेलिया जानका लागि राहदानी बनाउन आएको’, नेपालगन्जका सुधीर पौडेल भन्छन्, ‘राहदानी बनाउन आएको भीड हुने दिन परेर दुःख पाइयो। बिहान चिया खाएदेखि केही खाएको छैन।’

राहदानी विभागनिकट अधिकारीका अनुसार डीभीका लागि आवेदन नोभेम्बर ९ मा नै बन्द हुने भएकाले भीड भएको बताउँछन्। उनी भन्छन्, ‘डीभीका लागि म्याद सकिन आँट्यो, त्यसैले अहिले भीड छ। शिक्षाका साथै वैदेशिक रोजगारीका लागि धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू दसैँको छुट्टी लिएर आएका छन्। दसैँलगत्तै फर्किने बेला हुने भएकाले भीड बढेको हो।’