काठमाण्डौ । डेटामा भइरहेका अवैधानिक हस्तक्षेपकै कारण नेपाल स्टक एक्सेचन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा पटकपटक अवरुद्ध हुँदै आएको खुलेको छ।

गत बिहीबार टीएमएसमै समस्या भएका कारण नियमित कारोबारलाई स्थगन गरी बजार साँझ ५ बजेसम्म सञ्चालन गर्नुपरेको थियो। त्यो समस्या यो साताको पहिलो कारोबार दिन आइतबार पनि दोहोरिएको छ। 

पछिल्लो समय दैनिकजसो टीएमएस अवरुद्ध हुनमा नेप्सेले आईटी पोलिसी लागू नगर्दा नेप्सेको डेटा प्रयोग गर्ने संस्था र व्यक्तिहरुबाटै अवैधानिक गतिविधि भइरहेको स्रोत बताउँछ। ‘यस्ता संस्था र व्यक्तिले नै डेटामा पहुँच पाउने कोसिस गरेकै कारण दिनुहँजसो टीएमएसमा भार परी अवरुद्ध भइरहेको हो’, नेप्सेका एक अधिकारीले भने। 

पछिल्लो समय स्टक ब्रोकरहरुले आवश्यक आईटी रिसोर्स बढाउँदासमेत टीएमएस नचलेर सेयर कारोबार गर्नबाट लगानीकर्ता र ब्रोकर दुवै वञ्चित भइरहेका छन्।

एक ब्रोकरका अनुसार नयाँ टीएमएस तयारी अवस्थामा रहेको तर नेप्सेले डेटा बिक्रीबाट समेत आम्दानी गर्न खोजेको र त्यो प्रयास कानुनी रुपमा वैधानिक नहुने भएकाले अहिलेको समस्या समाधानमा उसले ध्यान नदिएको हो। बजार सरोकारवाला हामी ब्रोकरलाई एपीआई दिनुका साटो निजी लगानीका केही अनलाइन पोर्टलहरुलाई डेटा बेचिरहेको ती ब्रोकरको आरोप छ। ‘त्यस्ता पोर्टलहरुले नेप्सेबाट लिने डेटामा आधारित रही निकै राम्रो व्यापार गरिरहेका र त्यस्ता पोर्टलका ग्राहकहरुले समेत ती डेटामा कारोबार अवधिमै पनि पहुँच स्थापित गर्न खोज्दा त्यसको सोझो भार टीएमएसमा परिरहेको हो’, उनले भने। 

सेयर कारोबारको विस्तार र दायरा बढाउन आफूहरुसँग अर्को नयाँ सिस्टम तयारी अवस्थामा रहेको तर नेप्सेले सहजीकरण गर्न नचाहँदा दैनिकजसो समस्या देखिन थालेको पनि ती ब्रोकरले बताए। 

यसैबीच आज देखिएको समस्या समाधानको प्रयास भइरहेको नेप्सेले जनाएको छ। छिटोमा आधा घन्टा र ढिलै भयो भने पनि एक घन्टाभित्र कारोबार सुचारु हुने बताइएको छ।