जाजरकोट । डोल्पा जुफालका मानबहादुर बुढा घर निर्माणका लागि सरिया लिन नेपालगञ्ज आए । उनले किन्ने सरियाको मूल्यभन्दा हवाई मार्गबाट लैजान लाग्ने भाडा धेरै भएपछि बिलख बन्दमा परे । 

त्यस्तै विद्यालयकोलागि कर्कटपाता लिने तयारीमा रहेका त्रिपुराकोटका रामचन्द्र न्यौपाने पनि कर्कटपाता खरिद गरेको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने भएपछि तनावमा छन् । 

नेपालगञ्जबाट डोल्पाको जुफाल विमानस्थलसम्म सामान ढुवानी गरी लिन प्रतिकेजी १०० रुपैयाँ पर्दछ । स्थलमार्गबाट त्यस्ता सामान लैजान २० दिनभन्दा बढी लाग्ने भएका कारण डोल्पामा भौतिक संरचनादेखी अन्य दैनिक उपभोग्य सामग्री लिन निकै समस्या छ । 

हुनेखानेले मात्र डोल्पामा वलिया भौर्तिक संरचना निर्माण गर्न सक्छन तर सामान्य व्यक्ति र गरिब परिवारका लागि भने निर्माण कार्य गर्न निकै चुनौती रहेको डोल्पावासी बताउँछन् । विद्यालयलगातय अन्य भवन निर्माण गर्दा निकै खर्च ब्यहोर्नु पर्र्ने भएका कारण तोकिएको मापदण्डअनुसार निर्माण गर्न पनि चुनौती रहेको रहेको छ । 

डोल्पाका अधिकांश सम्पन्न बासिन्दाले हवाई मार्गबाट नै दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गर्दछन् भने अन्य व्यक्तिले खच्चडमा बोकाएर सामान ल्याउने गर्दछन् । सीमा क्षेत्र चीनबाट केही सामग्री ल्याउने गरेपनि हिमपात, सुरक्षा र नाकाबन्दका कारण सामग्री ल्याउन चुनौती भएको माथिल्लो डोल्पाका इगुरुग बताउँछन् ।