काठमाण्डौ । सेयर बजार सुधार र लगानीकर्ताको हकहित संरक्षणका लागि भन्दै नेपालको पूँजीबजारको इतिहासमै पहिलोपटक नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) अगाडिको दुर्गन्धित टुकुचाको डिलमा सँगै आमरण अनसन बसेका दुई लगानीकर्ताबीच आउने चुनावमा भिडन्त हुने भएको छ । 

स्थानीय निकायको निर्वाचनबाट स्वतन्त्र उम्मेद्वारतर्फ मतदाताले देखाएको आकर्षणलाई पछ्याउँदै सेयर बजारका लगानीकर्ताहरु हरि ढकाल र तिलक कोइरालाले आउने संघीय संसद सदस्यका लागि उम्मेद्वारी दिने भएका हुन् । यी दुई भाईले एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । 

चितवन क्षेत्र नम्बर १ मा ढकाल र कोइराला चुनावी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । 

स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारहरूको लहर चल्दै गर्दा प्रतिनिधि सभाका लागि सेयर बजारका अगुवाहरूले सामाजिक सञ्जालमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्न सुरु गरेका हुन्। 

उम्मेदवारी घोषणा गर्दै गर्दा सेयर बजारका अगुवा, हरि ढकाल र तिलक कोइरालाले एउटै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने भएका छन्। 

कोइराला र ढकाल दुवैले केही महिनाअघि एक अर्कासँग सहकार्य गरेर सेयर बजार मैत्री नीति नल्याएको भन्दै महासङ्घ खडा गरी 'सेयर बजार विरोधीलाई नो भोट' अभियान सुरु गरेका थिए। उनीहरू दुवैले यसअघि पनि सेयर बजार विकास र विस्तारको लागि विभिन्न मागहरू सहित एक अर्कासँग सहकार्य गरेर विभिन्न अभियानहरू गरेका थिए। 

अहिले दुवै अगुवाहरू एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा उठ्ने निश्चित भएको छ।

सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष समेत रहेका हरि ढकालले चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि अनौपचारिक रूपमा आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। उक्त घोषणासँगै ढकाललाई सामाजिक सञ्जालमा चितवन क्षेत्र नम्बर १ मा सकेको सहयोग गर्ने भनेर शुभकामना र बधाई दिनेहरूको लर्को लागेको छ।

नेपाल पुँजी बजार विकास अभियानका संयोजक तिलक कोइरालाले पनि फेसबुकमा प्रतिनिधि सभामा चितवन क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। कोइरालाले फेसबुकमा 'प्रदेश खारेजी र चितवनलाई हिउँदे राजधानी बनाउने मुख्य नारासहित आगामी चुनावमा चितवन–१ बाट संसद उम्मेदवार उठ्ने निधो गरियो' लेखेका छन्।

सेयर बजारका समस्या साथै विकास र विस्तार बारे विभिन्न फोरमहरूमा आवाज उठाउँदै आएका ढकाल र कोइरालाको प्रतिनिधि सभाको उम्मेदवारी घोषणाले सेयर बजारका लगानीकर्तामाझ चासो बढेको छ । 

पछिल्लो समय सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको सङ्ख्या बढ्दो छ। डिम्याट खाता हुने लगानीकर्ताहरूको सङ्ख्या झन्डै ५१ लाख हाराहारी रहेको छ।

ढकाल र कोइरालाले विगतको दिनहरूमा बजार विस्तार र विकासको लागि सुरु गरेका विभिन्न अभियान र आन्दोलनले लगानीकर्ताहरूको सामु छाएका छन्। त्यसैले लगानीकर्ताहरू पनि आफूहरूको समस्या बारे उनीहरूले सदनमा आवाज उठाउने बारे ढुक्क देखिन्छन्। तर, लगानीकर्ताबाहेकका मतदातालाई उनीहरुले आकर्षित गर्न सक्छन् या सक्दैनन् त्यो भविष्यले मात्र बताउन सक्छ । 

लगानीकर्ताहरूको हक र हितको लागि आवाज उठाउँदै आएका दुवै प्रत्याशी एउटै क्षेत्रबाट उम्मेदवारी दिनुको सट्टा फरक–फरक क्षेत्रबाट उम्मेदवारी दिएर चुनावमा एक अर्कालाई सहयोग गर्दा उचित हुने अधिकांश लगानीकर्ताहरूको अपेक्षा छ । ढकाल र कोइराला निकटहरूको अनुसार दुवैले केही दिनमा नै औपचारिक रूपमा चुनावी भेटवार्ता साथै प्रचारप्रसारको काम अगाडि बढाउनेछन् । 

स्थानीय निकायमा स्वतन्त्र उम्मेद्वारप्रति देखिएको मतदाताको आकर्षण र सोही किसिमको माहौललाई सदुपयोग गर्ने गरी ढकाल र कोइरालाले उम्मेद्वारी दिएका देखिन्छ । काठमाण्डौ, धरान वा नेपालगञ्जमा जस्तै उनीहरुले आउँदो निर्वाचनमा सरप्राइज दिने हुन या होइनन्, त्यसका लागि पनि पर्खिनुपर्ने नै हुन्छ ।