Gold
काठमाण्डौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले ढिक्का सुन विदेशबाट आयातमा लगाइएको प्रतिबन्ध सम्बन्धी नयाँ नियम कार्यान्वयनमा नआउँदै खारेजीको माग गरेको छ ।
भन्सार विभागले असार १० गते एक सूचना प्रकाशित गर्दै आगामी साउन १ गतेदेखि विदेशबाट आउने नेपालीहरुका लागि उपलब्ध झिटीगुण्टा सुविधाअन्तर्गत ढिक्का सुन ल्याउन पाइने सुविधा कटौति गरिएकोमा महासंघले आपत्ति जनाएको हो ।
बुधबार एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै महासंघले सरकारको नयाँ निर्णयले समग्र सुनचाँदी व्यवसायीलाई मात्र नभई सुनको तस्करीलाई समेत बढावा दिने दाबी गर्दै साबिककै व्यवस्था कायम हुनुपर्नेमा जोड दिइएको हो ।
हालसम्म विदेशबाट नेपाल फर्कने नेपालीहरुले झिटीगुण्टा सुविधाअन्तर्गत ५० ग्राम ढिक्का सुन र ५ सय ग्राम ढिक्का चाँदी ल्याउन पाउँछन । ढिक्का सुन र चाँदी ल्याउने छुटसुविधाको दुरुपयोग गर्दै सुन तस्करी मौलाएको र यसले सरकारलाई राजश्वमा समेत क्षति पुर्याएको दाबी गर्दै विभागले आगामी साउन १ गतेदेखि साबिकको नियम खारेज हुने बताइसकेको छ ।
महासंघका अनुसार हाल नेपाली बजारमा सुनको दैनिक माग ३५ केजी छ, तर वाणिज्य बैंकहरुले दैनिक १५ केजी मात्र सुन आपूर्ति गर्ने क्षमता राख्छन् । मागभन्दा निकै कम आपूर्तिका कारण देशभरका २२ हजार सुनचाँदी व्यवसायी र त्यसमा संलग्न १ लाख कालीगढहरुलाई गुजारा चलाउनै गाह्रो भएको महासंघले दाबी गरेको छ ।
सिजनको बेलामा हुने सुनचाँदीको चरम संकट टार्न विदेशबाट ढिक्काको रुपमा आउने सुनले धेरै मद्धत गरेको छ । त्यसैले हाल लागू गर्न खोजिएको फरक नियमले व्यवसायमा प्रतिकूल असर पार्ने निश्चित छ । यस्तो अवस्था कायम रहिरहेमा हामीले नचाहँदा नचाहँदै पनि तस्करहरुलाई सघाउन पुग्ने वातावरण बन्छ ।
बजारको मागको तुलनामा निकै कम आपूर्ति भए पनि विदेशबाट आउने नेपालीहरुले ल्याउने ढिक्का सुनले केही भए पनि अभाव हटाउने काम गरेको स्वीकार गर्दै महासंघका महासचिव दिपेशरत्न शाक्यद्वारा प्रकाशित विज्ञप्तिमा भनिएको छ–‘सिजनको बेलामा हुने सुनचाँदीको चरम संकट टार्न विदेशबाट ढिक्काको रुपमा आउने सुनले धेरै मद्धत गरेको छ । त्यसैले हाल लागू गर्न खोजिएको फरक नियमले व्यवसायमा प्रतिकूल असर पार्ने निश्चित छ । यस्तो अवस्था कायम रहिरहेमा हामीले नचाहँदा नचाहँदै पनि तस्करहरुलाई सघाउन पुग्ने वातावरण बन्छ ।’
महासंघले विदेशबाट सुनको गहना मात्र ल्याउन सकिने नियम बनाएको भन्दै त्यसको समेत विरोध गरेको छ । महासचिव शाक्यका अनुसार गहना मात्र विदेशबाट ल्याउन पाउने व्यवस्थाले कालीगढहरु बेरोजगार बन्ने, देशमा बेरोजगारी दर झनै बढ्ने, विदेशबाट सुनको ढिक्का ल्याउनुभन्दा गहना ल्याउनु महंगो पर्ने भएकोले विदेशी मुद्रा सञ्चितीमा समेत असर पुग्नेछ । ‘विदेशी मुद्राको व्ययभार बढ्ने गरी सुनको गरगहना मात्र ल्याउन पाउने बाध्यात्मक व्यवस्था यो देशका सुनचाँदी व्यवसायी, कालीगढ मात्र नभई सर्वसाधारण र गैरआवासीय नेपाली कसैको हितमा देखिदैन ।’ विज्ञप्तिमा भनिएको छ–‘हाललाई चलिआएको साबिक अवस्था अनुसार नै बन्दोबस्त मिलाउन सम्बन्धित निकायमा हार्दिक अनुरोध गर्दछौ ।’
महासंघले नयाँ व्यवस्थाको साटो बरु ढिक्का सुनको बिक्रीलाई व्यवस्थित गर्न र नियमनको दायराभित्र राख्ने कार्यमा सरकार र मातहतका निकायसँग आफूहरु सहकार्य गर्न तयार रहेको समेत स्पष्ट पारेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago