काठमाण्डौ । आन्तरिक राजस्व विभागले ढुवानी व्यवसायीलाई मूल्य अभिवृद्धि करमा दर्ता हुन ताकेता गरेको छ। 

विभागले आज एक सूचना जारी गर्दै ढुवानी सेवा गर्ने करदातालाई अनिवार्य रुपमा मूल्य अभिवृद्धि करमा दर्ता हुन ताकेता गरेको हो। 

आर्थिक ऐन २०८० ले मूल्य अभिवृद्धि कर ऐन, २०५२को अनुसूची–१मा संशोधन गरी ढुवानी साधनको भाडा तथा ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लाग्ने कानुनी व्यवस्था छ। ढुवानी सेवा प्रदायकले ढुवानी सेवा प्रदान गर्दा वस्तु तथा सेवाको बिजक अनिवार्य साथमा राख्नुपर्छ।

ढुवानी साधनका साथमा वस्तु तथा सेवाको बिजक नरहेको गुनासो आइरहेको सन्दर्भमा विभागको ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ। मूल्य अभिवृद्धि करको सीमा नाघेका व्यक्तिले समयमै मूल्य अभिवृद्धि करमा दर्ता भएर कानुनअनुसार कारोबार सञ्चालन गर्न विभागले सूचित गरेको छ। 

आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट खटिने टोलीले कानुनको परिपालना भएको पाइएमा कानुनअनुसार कारबाही हुने विभागले चेतावनी पनि दिएको छ।