अहिले घरका बगैंचा र बारीमा सयपत्री फुलेर ढकमक्क भएको छ । मनै लोभ्याउने सयपत्रीको प्रयोग माला लगाउन र पूजाआजामा बढी हुन्छ । तर, सयपत्रीमा औषधीय गुण छ भन्ने कमैलाई थाहा होला । यसलाई कस्मेटिक उत्पादनमा पनि प्रयोग गरिन्छ । फूललाई पिँघेर लेदो बनाई या सुकाएर धुलो बनाई चुर्णको रूपमा प्रयोग गर्न सकिन्छ ।

औषधीय गुण
फूलको लेप बनाएर छालामा प्रयोग गर्दा यसले छालासम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।

यसको चुर्ण रगतमा विकार बढेमा प्रयोग गरिन्छ ।

शरीरमा बढेको अत्यधिक गर्मीपन हटाउन पनि यसको प्रयोग हुन्छ ।

पेट फुल्ने र दुख्ने रोगमा चुर्णको मात्रा मिलाएर औषधि सेवन गरेमा फाइदा हुन्छ ।
कमलपित्त, अम्लपित्त, पायल्स, पेटभित्रको आन्द्राको घाउ आदिमा चुर्णको प्रयोगले सन्चो गराउँछ ।

मासिक धर्म अर्थात् रजस्वला हुँदा रगत घटबढ हुने समस्या भएमा यसको सेवनले नियमित गराउँछ ।

कलेजोको खराबीबाट आउने ज्वरोमा फाइदा गर्छ । सयपत्री फूल मात्रै चुसिरहँदा पनि धेरै फाइदा मिल्छ ।

सेवन गर्ने तरिका
सयपत्रीको तीन ग्राम लेदो या चुर्ण आधा लिटर तताएको पानीमा मिलाएर दिनमा दुई–तीनपटक सेवन गर्ने । त्यस्तै रस दिनमा पाँच थोपा दिनको दुई–तीनपटक सेवन गर्ने ।

-डा. शेषराज आचार्य वरिष्ठ आयुर्वेद चिकित्सक