काठमाण्डौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कोरोनाभाइरस महामारीका कारण स्थगित भएका परीक्षाहरु दसैंलगत्तै सञ्चालन गर्ने भएको छ।

सीटीईभीटीले शुक्रबार एक सूचना जारी गर्दै गत २०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएका विभिन्न तहका परीक्षा कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने जानकारी गराएको हो। कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण सीटीईभीटीबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा स्थगित भएका छन्। 

गत असोज १९ गते नेपाल सरकारको मन्त्रिपरिषद्ले ‘नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट जारी गरिएको जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डहरु पूर्णतया पालना गर्ने गरी परीक्षा सम्बद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने’ निर्णय गरेअनुसार परीक्षा गर्न लागिएको सीटीईभीटीले जनाएको छ। 

विस्तृत परीक्षा तालिका भने छिटै सार्वजनिक गरिने सीटीईभीटीले स्पष्ट पारेको छ।