काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई जहाज उडानमा नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउने भएको छ।
विश्व महामारी कोरोनाभाइरस संक्रमणपछि प्राधिकरणले अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउन लागेको हो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लगायतले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणअन्तर्गत तयार पारेको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नयाँ मापदण्ड बनाइएको प्राधिकरणले जनाएको छ।
कोरोना संकटबीच नै कतिपय मुलुकले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर हवाई उडान सुरु गरिसकेका छन्। नेपालमा पनि विस्तारै लकडाउन खुकुलो पार्ने निर्णय भएकोले नयाँ मापदण्ड तयार गरेको प्राधिकरणले जनाएको छ।
नेपालमा गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उद्योग बन्द छन्।
नयाँ मापदण्डअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेश द्वार (गोल्डेन गेट) देखि यात्रुसँगै वायु सेवा कम्पनी र विमानस्थलमा परिचालित कर्मचारीको स्वास्थ्य जाँच गरिनेछ। यात्रुले पनि चेक–इन काउन्टर, स्टेराइल हल, जहाज चढ्नुअघि र जहाज चढिसकेपछिका स्वास्थ्य सुरक्षामा ध्यान विशेष दिनुपर्ने हुन्छ।
प्राधिकरणले तयार पारेको मापदण्डमा यात्रु स्वास्थ्य सुरक्षा, वायु सेवा कम्पनीको उडान अवतरण व्यवस्थापन, जहाज, विमानस्थलमा कार्यरत कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राखिएको छ। मापदण्डमा अब पहिलाजस्तो आफन्त बिदाइका लागि आउने सर्वसाधरणलाई निरुत्साहित गरिएको छ। टर्मिनल भवनभित्र प्रवेशदेखि नै सामाजिक दूरीलाई विशेष ध्यान दिइएको छ।
उता बुद्ध एयरले भने अब उडान गर्दा यात्रुले शौचालय प्रयोग गर्न नपाउने र पानीबाहेकका खानेकुरा बाँड्ने क्याटरिङ सेवा बन्द गर्ने निर्णय गरिसकेको छ। संक्रमणको जोखिम कम नभएसम्म यात्रुको सुरक्षाका लागि ध्यानमा राखेर यी सेवा बन्द गर्ने निर्णय गरिएको कम्पनीले जनाएको हो।
यात्रुलाई बुद्ध एयरको कार्यालय, कार्गो, टिकट काउन्टरका साथै विमानस्थल परिसरमा रहँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ। कम्पनीले बजारमा उपलब्धताको आधारमा उचित मूल्यमा विमानस्थलमै मास्क बिक्री गर्ने जनाएको छ।
कम्पनीका अनुसार रुघा, खोकी, जिउ दुख्नेलगायत लक्षण देखिएका यात्रुलाई हवाई यात्रामा प्रतिबन्ध लगाइनेछ।
कम्पनीले चेक–इन काउन्टरमा यात्रुको विशेष स्क्रिनिङको व्यवस्था पनि मिलाइने जनाइएको छ। त्यस्तै बोर्डिङ हुनुअघि सबैको हात सेनिटाइज गराइने र एक पटकमा सिट नम्बरअनुसार चारजनालाई प्रवेश गराइने तथा ओराल्दा पनि सोही दरमा ओराल्ने जनाएको छ।
तत्कालका लागि कम्पनीले हवाई उडानमा घरपालुवा जनावर ओसारपसार गर्न नपाइने व्यवस्था समेत लागू गरेको जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19