काठमाण्डौ । सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अर्थसमितिको उपसमितिले मंगलबार अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको छ। 

गत वर्षको साउन २९ गते नेकपाकी सांसद झाँक्रीको संयोजकत्वमा बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिने विषयमा अध्ययन गर्न गठित उपसमितिले आज अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो।

अर्थसमितिका सभापति कृष्ण दाहालका अनुसार उपसमितिको सिफारिससहितको प्रतिवेदन अन्य सांसदहरुलाई समेत अध्ययन प्रयोजनार्थ दिइएको छ। प्रतिवेदन आगामी शुक्रबार बस्ने अर्थसमितिको बैठकद्वारा छलफल गरी पास गरेपछि मात्र अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जलाई पत्राचार गरिने दाहालको भनाइ छ। 

उपसमितिले १०० पृष्ठ लामो प्रतिवेदनमा विभिन्न प्रावधानसहित बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको दाहालले बिजशालालाई जानकारी दिए। इन्साइडर ट्रेडिङ नहोस् भन्ने प्रयोजनका लागि सम्बन्धित नियामक निकायले ऐन–कानुनको व्यवस्था गर्नुपर्ने र गडबडी भएका खण्डमा नियमन गर्न जोड दिइएको दाहालले बताए। 

यसअघि बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ हुने खतरा भएको भन्दै अर्थसमितिद्वारा बीचैमा हस्तक्षेप गरी नेप्सेद्वारा प्रदान गर्न लागिएको बैंकलाई ब्रोकर लाइसेन्स प्रक्रियासमेत अवरुद्ध भएको थियो।