काठमाण्डौ । लकडाउन खुलेसँगै राजधानीवासीको भान्छा झनै महँगिएको छ।

एकातिर लकडाउन खुल्नु र अर्कोतिर देशका विभिन्न स्थानमा बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति आउनुले राजधानीमा तरकारीको सहज आपूर्ति नभएको भन्दै मूल्य बढाइएको छ। हिजोआज बजारमा तरकारीको खुद्रा मूल्य ४० देखि ३०० प्रतिशतसम्म बढेको छ। 

भान्छामा अत्याधिक चाहिने गोलभेँडाको भाउ हिजोआज छोइनसक्नु भएको छ। दुई साताअघि १५ रुपैयाँ प्रतिकेजीमा पाइने सानो गोलभेँडा अहिले ६० रुपैयाँभन्दा बढी पर्छ। अझै सानो गोलभेँडा (टनेल) को मूल्य त यो अवधिमा २२–२५ रुपैयाँ प्रतिकेजीबाट बढेर ७०–७५ रुपैयाँसम्म पुगेको छ। 

यसैगरी बोडी, घिउ सिमी, घिरौँला, भिन्डी, बन्दा, तितेकरेला, परवरलगायतका तरकारी र हरिया सागसब्जीको मूल्य आकासिएका छन्। बरु लकडाउनको समयमा सस्सो रहेको तरकारीको भाउ अहिले लकडाउन खुलेसँगै छोइनसक्नु भएको उपभोक्ताहरु बताउँछन्। 

बजारमा दुई साताअघि ५० रुपैयाँ प्रतिकिलोमा पाइने रातो आलु अहिले ७५ रुपैयाँभन्दा बढी पर्छ। २० रुपैयाँ प्रतिकिलोमा पाइने बन्दा ३० रुपैयाँ बढी पर्न थालेको गृहिणीहरुको गुनासो छ। लोकल काउली त नै १४० रुपैयाँ प्रतिकेजी पुगेको छ। साउनको पहिलो सातासम्म काउली प्रतिकिलो ८०–९० रुपैयाँ किलोमा पाइन्थ्यो।

बजारमा बोडीको भाउ दुई सातामै २५० प्रतिशतसम्म बढेको छ। ४०–४५ रुपैयाँ केजीमा पाइने बोडी अहिले १२० रुपैयाँ बढी पर्न थालेको छ। घिउ सिमी पनि ४५ रुपैयाँ प्रतिकेजीमा पाइने गरेकोमा ११०–११५ रुपैयाँ पुगेको छ। 

साउनको पहिलो साता बजारमा प्रतिकेजी ४५ रुपैयाँ पाइने घिरौँला ११० रुपैयाँ बढी पर्न थालेको छ। यस्तै भिन्डी ४० रुपैयाँ प्रतिकेजीमा पाइने गरेकोमा १२५ रुपैयाँ पुगेको छ। 

सागको भाउ पनि ४० प्रतिशतले आकासिएको छ। फलफूलको भाउ पनि ३० प्रतिशतसम्म बढेको छ। 

एकातिर चार महिना लामो लकडाउनले क्रय क्षमता घटाएको छ भने अर्कोतिर दैनिक उपभोग्य वस्तुको भाउ बढ्दा उपभोक्तालाई निकै समस्या भएको छ। तरकारीको भाउ यसरी नै बढ्दै जाने हो भने भान्छा चलाउन मुस्किल पर्न सक्ने गृहिणीहरु बताउँछन्। 

यता व्यापारीहरुले भने लकडाउनपछिको अवस्थामा बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति आइपरेका कारण तरकारको सहज आपूर्ति हुन नसक्दा मूल्य बढेको बताएका छन्। उनीहरुले खुद्रा मूल्यमात्र नभई थोक मूल्य आकासिएको बताएका छन्।