काठमाण्डौ। तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले विभिन्न सुविधा पाउने भएका छन्। 

अक्सिजन उद्योगहरुलाई सहुलियत दिन सरकारले बजेटमार्फत घोषणा गरेको सुविधाहरु कार्यान्वयमा आएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै तरल अक्सिजन ग्यास उत्पादन गर्ने १ प्रतिशत ब्याजको विशेष पुनरकर्जा, ५ वर्षसम्म विद्युत डिमाण्ड शुल्कमा छुट तथा उद्योगको पूर्वाधारमा विकासमा ७५ प्रतिशत अनुदान दिने भएको छ।

अक्सिजन उद्योगका लागि निर्माण हुने सडक, खानेपानी, ढल र विद्युतीय पूर्वाधारको ७५ प्रतिशत खर्च सरकारले व्यहोर्ने भएको छ। उद्योग स्थापना भएको ३ वर्षसम्म आवश्यक मेसिनरी उपकरण आयातमा लाग्ने भन्सार, अन्तःशुल्क र भ्याट छुट यस्ता उद्योगले छुट पाउने राजपत्रमा उल्लेख छ। 

यसैगरी अक्सिजन उद्योगलाई विद्युत महसुलमा पनि छुटको घोषणा गरिएको छ। जसअनुसार ५ वर्षसम्म २ मेगावाटसम्म खपत गरे बिजुली महसुलमा ४० प्रतिशत र २ मेगावाटभन्दा बढी खपत गरे ५० प्रतिशत महसुल छुट उपलब्ध गराइनेछ।