– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कोभिड महामारीको सुरुआती चरणमा अन्यत्र लगानीको अवसर नहुँदा अधिक तरलताले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्यो। कुनै समयमा बैंक तथा वित्तीय संस्थामा १ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता थियो। ब्याजदर घटेसँगै उकालो लागेको सेयर बजार ३२०० को विन्दुमा पुगेर करेक्सन आएको थियो। 

छोटो समयमा बढेको बजार छोटो समयमै घटेर २४८४ को विन्दुसम्म आयो। केही दिनयता बजार पुनः बढिरहेको छ। आज पनि इन्ट्राडे करेक्सनसँगै १८ अंकले बजार सकारात्मक भएको छ। कारोबार पनि मंगलबारको तुलनामा आज करिब ३० करोडले बढेको छ। 

आज धेरै लगानीकर्ताले बजारमा करेक्सन आउँछ भन्ने अपेक्षाका बाबजुद पनि दिनभरि तलमाथि गर्दै सकारात्मक भएर बन्द भएको छ। 

बजार आखिर किन बढेको छ त ? के ब्याजदर बढ्दा बजार सधैँ घट्छ ? 

कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) का सञ्चालक नरेन्द्र सिजापती यो मान्न तयार छैनन्। सिजापती भन्छन्, ‘ब्याजदर बढ्दा बजार घट्छ भन्ने विषय किताबमा पढ्ने र भन्ने विषयमात्रै हो। यही नै यर्थाथपरक होइन।’

व्यवहारिक रुपमा सेयर बजार ब्याजदर बढ्दा पनि बढेको धेरै उदाहरण रहेको सिजापती बताउँछन्। ‘अघिल्लोपटक उच्च विन्दुमा बजार बढ्दा पनि ब्याज बढेको नै थियो’, उनी भन्छन्, ‘अहिले धेरै लगानीकर्ताले आफ्नो स्वपुँजीबाट बजारमा लगानी गर्ने भएको र बजारको विस्तार व्यापक भएकोले पनि ब्याजदरले नै प्रत्यक्ष असर गर्दैन।’ 

एक ब्रोकर सञ्चालक अहिले बजार बढ्नुमा पहिलो त छोटो समयमै बजार धेरै घट्नु नै रहेको बताउँछन्। ‘दोस्रोमा ब्याजदर सिंगल डिजिटमै रहनु नै हो’, उनले भने, ‘तेस्रोमा ऋणको ब्याजदर पनि ३ महिनाको औसत आधारदरभन्दा नबढ्ने भन्ने हो।’

चौथोमा कम्पनीहरुको प्रथम त्रैमास रिपोर्ट  र लाभांश राम्रो आउँदै गरेका कारण पनि बजार बढेको ती ब्रोकर सञ्चालकको तर्क छ। ‘मसान्तको प्रभाव र चाडपर्वको प्रभाव  पनि सकिएकोले बजारमा सकारात्मक भएको हो’, ती ब्रोकर सञ्चालकले भने। 

एक मर्चेन्ट बैंकका सीईओले पनि अहिले बजार बढ्नुको मुख्य कारण चुनाव आउन लागेका कारण नै हुन सक्ने बताए। ‘अर्को भनेको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा  ४–१२ को सेयर धितो कर्जाको सीमा हट्ने अनुमानले पनि बजारमा सकारात्मक प्रभाव परेको हो’, ती सीईओले भने। 

ती सीईओले म्युचुअल फन्डले पनि अहिले नै सबै सेयर बेची नसकेको खुलास गरे। ‘हामीले सतप्रतिशत उपलब्धि हासिल गरेका छौँ तर ठूलो लगानी अहिले पनि सेयर बजारमै रहेको छौँ’, ती सीईओले भने, ‘अहिले लगानीकर्तामा विश्वास बढेको कारण पनि बजार बढेको हो।’