– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समयदेखि बैंकिङ प्रणालीमा तरलता संकट देखिएको छ। 

तरलतामा दबाब परेकै कारण बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई सहज ढंगले कर्जा प्रवाह गर्न सकिरहेका छैनन्। तरलतामा दबाब पर्दा सेयर बजारसहित अन्य क्षेत्र पनि प्रभावित बनिरहेको छ। 

अघिल्लो साता निरन्तर घटेको सेयर बजार यो साताको पहिलो कारोबारमा पनि घटेपछि सोमबार र मंगलबार भने सामान्य अंकले बढेको छ। बजार जानकारहरुले भने अहिले बजारमा तरलता अभाव भए पनि सबै नकारात्मक विषय बजारले पचाइसकेकोले अब विस्तारै सकारात्मक बन्दै जाने बताउँछन्। शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट भन्छन्, ‘प्रधानमन्त्री र अर्थमन्त्रीले हस्तक्षेप गरेकै कारण बैंकको ब्याजदर बढेन। तर, निक्षेपकर्तालाई आकर्षित पार्न बैंकहरुले ब्याजदर बढाउने तयारीमा थिए।’ 

अब भने विकास खर्च बढ्दै जाँदा तरलता सहज हुने बिष्टको भनाइ छ। ‘अब वैशाखमा पनि ब्याजदर बढ्ने सम्भावना कमै छ’, उनले भने।  

ब्रोकर एसोयिसन अफ नेपालका पूर्वअध्यक्ष भरत रानाभाट पनि अहिले तरलतामा परेको दबाबकै कारण बजारमा रौनक आउन नसकेको बताउँछन्। ‘बजारमा मुख्य बिषय पैसा नै हो’, उनी भन्छन्। 

सक्रिय लगानीकर्ता विष्णु भुसालले धेरै लगानीकर्ताको चैतमा सेयर किन्नुपर्छ भन्ने मानसिकता रहेका कारण बजार सकारात्मक बन्न थालेको बताउँछन्। ‘बजारमा स्वपुँजी लगानी गर्ने लगानीकर्ताको संख्या बढी हुनु र लगानीकर्ता चैतमा सक्रिय हुनुले बजार विस्तारै बढ्न थालेको हो’, उनले भने। 

अर्को विषय भनेको नेपालको सेयर बजारमा प्राविधिक पक्ष हेरेर सेयर किन्नेको भुसाल बताउँछन्। 

बजार जानकार मुक्ति अर्याल अहिले बजारमा अहिले नकारात्मक विषय केही पनि नरहेको बताउँछन्। ‘अब असारसम्म राष्ट्र बैंकको नयाँ निर्देशन आउने सम्भावना पनि कम छ’, उनले भने। 

अहिले नेपालको सेयर बजारमा पनि ट्रेडर हावी भएको अर्यालको भनाइ छ। ‘गेम ट्रेडरले खेल्ने हो। तरलता संकट त छ तर यही कारणले नै बजार सधैँ घट्ने होइन’, उनले भने, ‘केही समयमात्रै बजारलाई असर गर्ने हो। अब वैशाख लागेपछि कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय रिपोर्ट पनि आउने भएकोले बजार सकारात्मक हुने देखिन्छ।’