काठमाण्डौ । तराई मधेशको बाढी तथा पहिरोको छायाँ मंगलबारको बजारमा समेत परेको छ । यो दिनदेखि डूूबान क्षेत्रमध्ये केही ठाउँको बैकिङ कारोबार सुरु भए पनि अझै अधिकांश ठाउँमा अन्यौलकै अवस्था छ । सेयर लगानीकर्ताहरु डूबानको पीडाबाट मुक्त भएर नजिकको ब्रोकर शाखामा आई कारोबार गर्नसक्ने अवस्था अझै भएको छैन । यहीकारण मंगलबारको सेयरबजार परिसूचक(इण्डेकस) १२.९७ अंकले घटेर १६२९.१६ विन्दूमा झरेको हो । आइतबारको तुलनामा मंगलबारको कारोबार रकम(टर्नओभर)मा २ करोडको गिरावट आएको छ । 

पछिल्लो समय बजार निरन्तर घट्नुको एउटा कारोबार सर्ट टर्म कारोबारीको प्रोफिट बुकतर्फको दौडधूप पनि हो । यसबाहेक बैंक तथा बित्तीय संस्थाहरुले उच्च नाफासहितको आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहेको समय र तरलता समेत खुकुुलो भएका कारण बजार घट्नुपर्ने अन्य कारण देखिदैन । 

मंगलबार होटल समूह बाहेक अन्य सबै समूहको सूचकमा रातो पोतियो । वाणिज्य बैंक(बैकिङ) समूह १०.८६ अंकले घट्यो भने बिमा, विकास बैंक र बित्त समूहमा क्रमशः ८८.७६, १३.७४ र ३.९६ अंकले घटे । यस्तै, जलविद्युत समूह २४.४९, उत्पादनमूलक २८.३४ र अन्य समूह ५.७९ अंकले घटे । होटल समूहमा चाहि ३.२ अंकको झिनो बढोत्तरी देखियो । 

‘क’ वर्गका कम्पनीको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स २.६७ अंक र समग्र कारोबार समेत घट्दा फ्लोट इण्डेक्स ०.८३ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार बजारमा १ सय ६० कम्पनीको कुल १६ लाख १५ हजार ७ सय ३८ कित्ता सेयर ७८ करोड ३६ लाख ७ हजार ४ सय ८ रुपैयाँमा किनबेच भयो । सबैभन्दा बढी नेशनल हाइडोपावर कम्पनीको सेयर ४ करोड ५४ लाख बढीमा कारोबार भयो । प्रूडेन्सियल इन्स्योरेन्सको ३ करोड ८४ लाख बढीको सेयर कारोबार भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले ३ करोड ५६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ४३ लाख, महालक्ष्मी विकास बैंकले २ करोड ९७ लाख, नेपाल बंगलादेश बैंकले २ करोड २८ लाख, ग्लोबल आइएमईले २ करोड १३ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, एक स्थान जलविद्युत र अर्को एक स्थान विकास बैंक समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन महालक्ष्मी विकास बैंक र वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्सले १० प्रतिशतको हाराहारीमा सम्पत्तिको मूल्य बढाए । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समेत ८ प्रतिशतको हाराहारीमा बढ्यो । 

तीनवटा कम्पनीको सेयर मूल्यमा यो दिन पहिरो गयो । हिमालयन डिस्टीलरी लिमीटेड, छ्याङ्दी हाइडोपावरको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यस्ते, नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्यमा समेत ९ प्रतिशतको हाराहारीमा गिरावट आयो ।