काठमाण्डौ । सिनामंगलबाट बरामद करिब १ क्विन्टल सुन तस्करी प्रकरणमा अफ्नो संलग्नता नरहेको व्यवसायी दिपक मल्होत्राले दाबी गरेका छन्। 

केही सञ्चार माध्यममा सो सुन तस्करी प्रकरणमा मुख्य नाइके दिपक मल्होत्रा भएको खबर प्रकाशित भएका छन्। सो सम्बन्धमा बिजशालाले कुरा बुझ्ने क्रममा व्यवसायी मल्होत्रासँग टेलिफोन वार्ता गरेको छ। 

सो क्रममा व्यवसायी मल्होत्राले तस्करीको १ क्विन्टल सुन आफ्नो नभएको र त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन्। ‘केही मिडियाका साथीहरुले पूर्वाग्राही भएर सो प्रकरणमा मेरो नाम मुछे, म आफैँ अचम्मित छु’, उनले भने, ‘सो प्रकरणमा मेरो कुनै संलग्नता पुष्टि भए, म जस्तोसुकै कारबाही भोग्न तयार छु।’

मल्होत्राले यही विषयमा प्रस्ट पार्न आज दिउँसो १ बजे होटेल रोयलसिंघीमा पत्रकार सम्मेलन राखेको समेत जानकारी दिए। 

उता राजश्व अनुसन्धान विभागस्थित स्रोतले प्रारम्भिक अनुसन्धानमा तस्करी भएर एयरपोर्ट भन्सारबाट पास भएको करिब १ अर्ब रुपैयाँबराबरको सुन व्यवसायी दिपक मल्होत्राकै रहेको दाबी गर्यो। ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ, पक्राउ परेकाहरुबाट बयान लिने काम जारी रहेको र सोभन्दा अगाडि पनि सो गिरोहले करिब २५ पटक यसैगरी सुन तस्किरी गरिसकेको सूचना आएकोले त्यसमाथि पनि अनुसन्धान सुरु गरिएको छ’, स्रोत भन्यो।