काठमाण्डौ । व्यवसायी दिपककुमार मलहोत्राले तस्करीको सुनको भन्सार जाँचपास गर्ने र जिम्मा लिने कार्यमा आफ्नो र आफ्नो परिवारको कुनै संलग्न रहेको दाबी गरेका छन्। 

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै व्यवसायी मलहोत्राले यस्तो दाबी गरेका हुन्। ‘मिडियामा भन्सार जाँचपास भएर बाहिरिएको सुन ट्याक्सीबाट बरामद भएकोसम्बन्धी एक समाचारमा मेरो तस्वीरसहित त्यसमा मेरो संलग्नता रहेको भन्ने कपोकल्पित, भ्रामक, तथ्यविनाको प्रसंग उल्लेख गरिएको छ’, उनले भने, ‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसंग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछ।’

आफू र आफ्नोे परिवारका सबै सदस्यहरुको व्यावसायिक कारोवारहरू नेपाल कानुन वमोजिम स्थापना भएका निकायमार्फत हुने गरेको मलहोत्राले स्पष्ट पारे। ‘मैले गर्ने सबै कारोबार संगठित संस्थामार्फत हुने भएकोले प्रचलित कानुनबमोजिम मेरो व्यवसायको कर विवरण, अनुमानित आय विवरण र वार्षिक आय विवरणमार्फत सम्बद्ध सरकारी निकायमा पेस भई जानकारी हुने गर्दछ’, उनले भने। 

आफू र आफ्नोे परिवारले व्यक्तिगत रुपमा तथा प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य व्यक्तिसँग मिली वा अन्य व्यक्तिलाई परिचालन गरी गैरकानुनी कुनै कारोबार गर्ने नगरेको मलहोत्राको भनाइ छ। ‘म र मेरो परिवारको कारोबार, आय सबै कानुनबमोजिम अभिलेखबद्ध, पारदर्शी भई कानुनबमोजिम पेस हुने विवरण राज्यको पूर्ण जानकारीका विषय हुन्’, उनले भने। 

मलहोत्राले आज प्रकाशित समाचारमा भनिएजस्तो त्यो सुन आयात गर्न आफूसम्बद्ध व्यापारिक प्रतिष्ठान एवं मेरो व्यक्तिगत सम्पत्तिबाट कुनै पनि माध्यमबाट भुक्तानी पठाउने कार्य नभएको दाबी पनि गरे। ‘उक्त वस्तु आयातमा म, मेरो परिवार मसँग सम्बद्ध व्यापारिक प्रतिष्ठान वा सोसँग सम्बद्ध अन्य कुनै साझेदार एवं कर्मचारीको नाउंमा आयात गरिएको र उक्त वस्तु भन्सार जाँचपास गर्ने र जिम्मामा लिने कार्यमा म, मेरो नातेदार एवं मसम्बद्ध व्यवसायिक निकायको कुनै संलग्नता नभएको स्पष्ट पार्न चाहन्छु’, उनले भने।

‘म संलग्न नभएको कार्यमा मेरो नाम उल्लेख गरेर समाचार लेख्ने पत्रकार वा प्रकाशन गर्ने मिडियाले यसबारे माफी नमागे र खण्डन प्रकाशन नगरे म कानुनी उपचारमा जाने जानकारी गराउन चाहन्छु’, उनले भने।