काठमाण्डौ । मुस्ताङको मानापाथी हिमाल नजिकैको थासाङ २ सानो स्वारेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको तारा एयरको विमानमा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । 

अधिकांशको शव क्षतविक्षत अवस्थामा घटनास्थलमा फेला परेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । 

नेपाली सेनाको टोलीसँगै दुर्घटनास्थलमा भर्खरै पुगेको प्रनि तामाङले केही शवहरु मात्र चिनिने अवस्थामा रहेको बताए । 

'केही शवहरु भने क्षतविक्षत अवस्थामा देखिएका छन् । अधिकांश शव जलेका छैनन्, क्षतविक्षत मात्र भएका देखिएको छ ।' उनले बिजशालासँग घटनास्थलबाट भने-'अहिले शव संकलन गर्ने कार्य भइरहेको छ ।'

शवहरु संकलन गरेर पोखरा लैजाने तयारी भइरहेको छ ।  

तारा एयरको सो विमान हिजो ९ः५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको थियो । उडेको केही मिनेटमै सम्पर्कविहीन भएको थियो । हिजो दिनभर खोजी गरिए पनि प्रतिकूल मौसमका कारण फेला परेको थिएन । तर, आज विहान स्थानीयवासीहरुको टोलीले विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।

विमानमा ६ विदेशी यात्रुसहित १९ यात्रु र ३ चालक दलका सदस्य थिए।